काठमाडौँ – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। लगातार पाँच दिन घटेर आइतबार स्थिर रहेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले गिरावट आएको छ। आज छापावाला सुन ९५ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुन दुई साता भन्दा बढी समयकै सस्तो
भदौ महिना लागेपछि मात्रै सुनको मूल्य चार दिन घटेको छ। जससँगै भदौ महिनामा सुनको मूल्य ९ सय रुपैंयाँले घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा सुन साउन १८ अर्थात १९ दिनकै सस्तो रहेको छ। त्यस दिन नेपाली बजारमा आजकै मूल्यमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य
नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।