गोरखा : ‘उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर … आयो गोरखकाली …।’ ५० को दशकतिर रेडियो र टेलिभिजनमा खुबै बज्ने कर्णप्रिय विज्ञापन अझै जनमनमा छ। राजधानी काठमाडौंबाट १२० किलोमिटर पृथ्वी राजमार्गको यात्रा गरेपछि तनहुँको आँबुखैरेनी पुगिन्छ। त्यहाँबाट मस्र्याङ्दी तरेर गोरखातर्फ लाग्नेबित्तिकै मझुवा देउरालीमा, गोरखकाली रबर उद्योग छ। गोरखकाली रबर उद्योग टायर उत्पादन गर्ने नेपालको एकमात्र उद्योग हो। जसले कुनै बेला नेपालको ४० प्रतिशत टायरको माग धानेको थियो। तर, अहिले उद्योगको नाम निशाना मेटिने अवस्थामा पुगेको छ। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
विगत र हविगत गोरखा नगरपालिका–१३ मझुवास्थित ७३० रोपनी क्षेत्रफलमा फैलिएको रबर उद्योगको अहिले ढुकढुकी मात्र बाँकी छ। पर्खालभित्रको राष्ट्रिय सम्पत्तिको कन्तविजोग देख्दा जोकसैलाई उदेक लाग्छ। २४ घण्टामा ६२४ थान टायर उत्पादन गर्न सक्ने क्षमता भएको रबर उद्योग अहिले झाडीले ढपक्कै छोपेको छ।
त्यतिबेला उद्योगको वार्षिक उत्पादन क्षमता ८० हजार ट्रक टायर र अन्य प्रकारका ४० हजार टायर थियो। तर, उद्योगले सुरु–सुरुमा वार्षिक ८८ हजार थान टायर उत्पादन गर्न समर्थ थियो। त्यसमा ट्रकका लागि १२ प्रकारका, जिप र भ्यानका लागि ५ प्रकारका र कारहरूको लागि ६ प्रकारका टायर थिए।
रुँग्ण उद्योगको सुरक्षामा गार्ड मूल गेटमा आलोपालो गर्दै उँगिरहेका भेटिन्छन्। २०७१ चैत २३ गतेबाट टायर उत्पादन बन्द भएको सो उद्योग २०७२ सालको भूकम्पपछि पूर्ण रूपमा बन्द भयो। उद्योग व्यवस्थापनले २०७५ माघ पहिलो साता सरकार गुहारेर त्यहाँ कार्यरत २ सय ८० भन्दा बढी कर्मचारीलाई बक्यौता हिसाब भुक्तानी गरेर अनिवार्य अवकाश दियो। त्यसबापत उद्योगमा सरकारको झण्डै ८४ करोड रुपैयाँ दायित्व बढेको छ।
मजदुर र कर्मचारी बिदा भएपछि उद्योग जंगलमा परिणत भएको छ। त्यसअघि हाजिर मात्र गर्न भने पनि कर्मचारी ओहोरदोहोर गरिरहँदा केही चहलपहल हुन्थ्यो। तर, त्यसयता उद्योग बाँदर र स्यालको बासस्थान बनेको छ।
गुड्दागुड्दैका चारवटा गाडी र केही मोटरसाइकल उद्योगभित्र थोत्रिएका छन्। २०४२ सालमा १ करोड १४ लाख रुपैयाँमा खरिद गरिएको ६ सय ८२ रोपनी जग्गा बेवारिसे बनेको छ। करोडौँका मेसिन मात्र होइन, करोडौंका भवन पनि थोत्रिएका छन्। टायर उत्पादनको काम नहुँदा मेसिन र कच्चापदार्थ कवाडीमा परिणत भएका छन्।
‘हामीलाई उद्योगभित्रको मेसिन रेखदेख गर्ने अनुमति छैन’, सुरक्षा गार्ड गंगाप्रसाद गौतम भन्छन्, ‘उद्योगको कम्पाउन्ड वरिपरिको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौं।’राज्यको अर्बौंको सम्पत्ति धुलोमाटो भएको टुलुटुलु हेरेर बस्नुपर्दा मन भक्कानिने उनी बताउँछन्।
‘बेलाबेला सरसफाई गर्ने, मेसिनहरूको अवस्था जाँचिएको पनि छैन। ठूल्ठूला भवन झाडीले छोपेको छ। जताततैका झ्यालका सिसा फुटेका छन्। उद्योगभित्र बाँकी रहेका कच्चापदार्थ बेपर्वाह मिल्किएको छ’, उनी भन्छन्। उद्योग परिसार पूरै जंगल बनेपछि एक्लै उद्योग परिसर चाहार्न सुरक्षा गार्ड पनि डराउने गरेका छन्। कार्यालय, उत्पादन कक्ष, प्रशोधन कक्ष, स्टोरलगायत कुनैमा पनि तालाचाबी लगाइएको छैन। शौचालयबाहेक उद्योगको सबै कोठा दुर्गन्धित छन्।