नाममै अपमान: फ्याउरो देखि सिँगाने सम्म राखिदिए नागरिकतामै नाम !

दैलेख, बागलुङ — नागरिकताबिना कुनै सरकारी काम हुँदैन तर दैलेखको दुल्लु नगरपालिका–१ निवासी ३५ वर्षीय कुलबहादुर बादीलाई आफ्नै नागरिकता बोकेर हिँड्दा अपमानबोध हुन्छ । नहोस् पनि किन, २०४४ सालमा जन्मेका कुलबहादुरको नागरिकतामा नाम, थर ‘फ्याउरो बादी’ लेखिएको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

कुनै निरक्षर नागरिकको नाम ‘फ्याउरो’ लेखेर नागरिकताको कार्ड तयार भएपछि सोधखोज गर्नुपर्ने दायित्व ‘शिक्षित’ सरकारी अधिकारीको हो । तर, २०६४ मा बनाएको नागरिकतामा शाखा अधिकृत मेघनाथ पाध्याले निर्धक्क हस्ताक्षर धस्काएका छन् ।

कुलबहादुरको जस्तै समस्या श्रीमती मदनालाई पनि छ । किनकि उनको नागरिकतामा ‘हाकिम’ ले मदन लेखिदिए । बाबुको नाम फ्याउरो र आमाको नाम मदन भएको विषयमा नाबालक छोरा दीपेशले महँगो मूल्य चुकाउनुपरेको छ । ‘सबैले बाआमाको नाम लिएर जिस्क्याउँछन्, हेप्छन्, तेरा बाउको नाम के रे ? आमाको नाम के रे भनेर सताउँछन्, त्यसैले म त स्कुल जानै छोडिदिएँ,’ उनले भने । दीपेशका जेठा दाजु प्रकाश यही यातना छल्न गाउँको स्कुल छाडेर सुर्खेत झरेका छन् । नागरिकता टोलीलाई मदनाले सही नाम नै भनेकी थिइन् । तर असंवेदनशील टोलीले मदन लेखिदियो, यो पनि उनले धेरै पछि मात्रै थाहा पाइन् । जसका कारण उनले पाइलापाइला सफाइ दिनुपर्ने परिस्थिति बनेको छ । अझ श्रीमान्लाई झनै आपत् परिरहेको उनी बताउँछिन् ।

‘गाउँसमाजमा मेरा श्रीमान् अरूसँग बोल्न पनि सरम मान्छन्, ठूला हाकिमले हामी साना मान्छेलाई जे भने पनि भयो भनेर नाम बिगारिदिएका हुन् तर यसले हाम्रा बच्चाहरूलाई पनि पिरोलेको छ,’ उनी भन्छिन् । उता, कुलबहादुर पनि सामाजिक भेला हुने काममा श्रीमती पठाउने गरेका छन् । ‘फ्याउरो भनेर कसरी चिनिने ? त्यसैले सामाजिक काममा बड्डीलाई पठाउँछु,’ उनले भने ।

रुकुम पश्चिम आठबिस नगरपालिका–३ का एक नागरिकको प्रमाणपत्रमा त ‘कुत्ता बादी’ लेखिएको छ । ६१ वर्षीय उनी आफ्नै नागरिकताका कारण अपमानित छन् । दुर्गम भेग र निरक्षर पृष्ठभूमिका उनलाई आफ्नो असली नाम के थियो भन्ने पनि थाहा छैन । नागरिकतामै लेखिएको नाम काढेर उनलाई स्थानीयले बोलाउँछन् । तर उनी विरोध गर्न सक्दैनन् । कथित तल्लो जातका मानिसलाई हेयको दृष्टिले राखिदिएका नाममा सरकारी अधिकारीले ठप्पा लगाइदिए, जसले एक नागरिकको स्वाभिमानमा चोट लागेको छ ।

दैलेखको नारायण नगरपालिका–१० ग्वात्तीका ६५ वर्षीय अर्का नागरिकको नाम ‘सिँगाने कामी’ लेखिएको छ । नागरिकको नाम ‘सिँगाने’ लेखिदिने हाकिमले लाज मान्नुपर्ने हो तर अपमानित छन् सर्वसाधारण । पहिले–पहिले त उनलाई नागरिकतामा लेखिएको नामले खासै पिरोल्दैनथ्यो तर हेपेरै यस्तो नाम राखिदिएका हुन् भन्ने जागरण आएको छ, त्यसैले आक्रोशित हुन्छन् ।

प्रकाशित : शनिबार, साउन २१, २०७९०८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतमा मंकिपक्स देखिएपछि नेपाल उच्च जोखिममा !