काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
छिमेकी मुलुक भारतमा मंकिपक्सका कारण एक जनाको मृत्यु भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा विश्व स्वास्थ्य संगठनले लिएको छ । नेपालमा मंकिपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड–१९ महामारी तथा मंकिपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लूएचओ नेपालका प्रमुख डा. राजेश सभाजीराव पाण्डवले मंकिपक्सलाई नजिकबाट नियालिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालमा हालसम्म मंकिपक्सको बिरामी भेटिएको छैन । तर उच्च जोखिमा नेपाल छ भन्ने कुरा नकार्न सकिन्न, त्यसैले जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौं । अहिले नेपालमै मंकिपक्सको परीक्षण हुन्छ । कोभिडको शुरुवातीमा जस्तो परीक्षणका लागि डब्ल्यूएचओसँग निर्भर हुनुपर्दैन ।’
डा. पाण्डवले आपतकालीन र प्रकोपको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको भूमिका स्वास्थ्यकर्मीको जस्तै निकै नै महत्वपूर्ण हुने बताउनुभयो । डा. पाण्डवले डब्लूएचओले गत २३ जुलाईमा मंकिपक्सलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको र हाल नयाँ स्वरूपसहित विश्वभर दु्रत गतिमा फैलिरहेको एक प्रकोपको संज्ञा दिनुभयो । उहाँले भारतमा मंकिपक्सले एक जनाको मृत्यु भएको अवस्थामा नेपालले सावधानीमा जोड दिनुपर्छ भन्नुभयो ।
उहाँले नेपालमा पनि कोभिडको नयाँ र खतरनाक भेरियन्टहरू देखा परिरहेका बताउँदै ओमिक्रोन भेरियन्टका धेरै उप–स्वरूपहरू, विशेष गरी बीए ५ जस्तो एकदमै संक्रामक भेरियन्ट पुष्टि हुनुले स्वास्थ्य मापदण्डहरूको पालना गर्न छोड्ने बेला भएको छैन भन्नुभयो ।इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले मंकिपक्स आशंकामा अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् ४ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।