‘एक चीन नीति’ प्रति नेपाल दृढ रहने चीनको विश्वास !

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अमेरिकी सभामुख नान्सी पेलोसीले मंगलबार ताइवान भ्रमण गरेको सन्दर्भमा चिनियाँ राजदूत होउले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो विश्वास व्यक्त गरेकी हुन्। चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

राजदूत होउले लामो समयदेखि ‘एक चीन नीति’प्रति प्रतिबद्ध रही नेपालले ‘स्वतन्त्र ताइवान’को सशक्त विरोध गर्दै आएको भन्दै उच्च प्रशंसा गरेकी छन्। राजदूत होउले यो नै दुई देशबीचको सम्बन्धको राजनीतिक आधार भएको बताएकी छन्। उनले चीन र नेपाल हिमाल र नदीले जोडेका दुई असल छिमेकी, विश्वासिला मित्र र विश्वसनीय साझेदार भएको बताउँदै दुई देशले सधैं एकअर्कालाई बुझेको र समान चासोका विषयमा साथ पनि दिँदै आएको जनाएकी छन्।

राजदूत होउले अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले एक चीन नीतिको गम्भीर उल्लंघन गरेको र दुई देशबीचको सम्बन्धको राजनीतिक आधारलाई नराम्रो असर पार्ने बताएकी छन्। चिनियाँ विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि पेलोसीको भ्रमणबाट चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लंघन भएको जनाइएको थियो।

चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ नखेल्न, चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र गलत तथा खतरनाक बाटोतर्फ अघि नबढ्न चेतावनी दिएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले बुधबार विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने चेतावनी दिएका छन्। उनले चीनलाई आघात पुर्‍याउनेहरूलाई सजाय हुने बताएका छन्।

प्रकाशित : बिहिबार, साउन १९, २०७९०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद !