काठमाडौं । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप सिंहबीच फोन संवादमा भनाभनको स्थिति आएको छ ।
महानगरपालिकाले गत १० साउनबाट नख्खु–एकान्त कुनामा लागू गरेको वान वे प्रहरीले हटाएको थियो । महानगरपालिकाले यसअघि पनि विभिन्न सडकमा वान वे कायम गर्दै आएको थियो ।
प्रहरीले यसअघि बेवास्ता गर्दै आए पनि पछिल्लोपटक भने महानगरपालिकाले गरेको वान वे सडकलाई हटाएर दुईतर्फी (टु वे) बनाएको हो । प्रहरीले वान वे हटाएपछि मेयर महर्जन आफैं ‘वान वे’ क्षेत्रमा पुगेर फेरि दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका थिए ।
मेयर महर्जनले आईजीपीको ठाडो निर्देशनमा वान वे हटाएको भन्दै टेलिफोन गरेर आफ्नो काममा डिस्टर्ड नगर्न चेतावनी दिएका थिए । उनले आईजीपीसँग फोनमा भनाभन भएको समेत बताएका छन् । स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्तक्षेपमा उनको आक्रोश छ ।
उक्त क्षेत्रमा ‘वान वे’ सुरु गरेदेखि दुर्घटना र सवारीजाम शून्य भएको उनले बताएका छन् । वान वे प्रभावकारी भइरहेको बेला प्रहरीले एकाएक छापामार शैलीमा हस्तक्षेप गरेको उनको भनाइ छ ।
महानगरपालिकाले ‘वान वे’ लागू गर्नुअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर, ट्राफिक प्रहरी कार्यालय सातदोबाटो, प्रहरी प्रभाग सानेपा, ट्राफिक प्रहरी वृत्त जावलाखेल, ललितपुर महानगरपालिका–४ र नगर प्रहरी बल ललितपुरलाई पत्राचार गरेको जनाएको छ । पत्राचार गर्दा कुनै प्रतिक्रिया नदिएको र अहिले आएर एकाएक आफ्नो काममा हस्तक्षेप गरेको महर्जन बताउँछन् ।
मेयर महर्जनले ट्राफिक विज्ञ, स्थानीयवासी तथा वडा र सरोकारवालाको सुझावअनुसार एकान्त कुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खु पुलबाट गायत्री पेट्रोल पम्प हुँदै एकान्त कुनातर्फ आउने (२७९ मिटर) र भनी मण्डल चोकबाट नख्खु चोकतर्फ आउने (२५२ मिटर) क्षेत्र एकतर्फी गरिएको बताएका छन् । महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र ‘वान वे’ बनाइसकेको छ ।