भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला ?

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो १६ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाएको छ । तर, आयल निगमले अझै घाटा पूर्ति नभएको तथ्यांक देखाउँदै नेपाली बजारमा मूल्य
घटाएको छैन । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेका कारण आइओसीले नेपाललाई पेट्रोलियमको मूल्य घटाएर पठाएको हो । स्रोतका अनुसार १ साउनमा पेट्रोल १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ प्रतिलिटर घटेर आएको थियो । त्यस्तै, सोमबार निगमलाई पठाएको नयाँ खरिददरमा पनि पेट्रोल १६.८० रुपैयाँ र डिजेल १२.४५ रुपैयाँ प्रतिलिटर घटेर आएको छ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७७ रुपैयाँ घटेको छ । नयाँ खरिददरअनुसार पेट्रोलियम बिक्री गर्दा निगमलाई आगामी १५ दिनमा ६४ करोड घाटा हुने प्रक्षेपण गरिएको छ ।

नयाँ खरिददर प्राप्त हुनुअघिसम्म निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ प्रतिलिटर तथा ग्यासमा पाँच सय ८२ रुपैयाँ प्रतिसिलिन्डर घाटा थियो । सोमबार नयाँ मूल्य आएपछि पनि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर पाँच सयभन्दा बढी घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँभन्दा बढी नाफा छ ।मुलुक भित्रिने पेट्रोलियममध्ये सबैभन्दा धेरै डिजेलको हिस्सा ५९ प्रतिशत छ । त्यसैले डिजेलमा घाटा हुनासाथ निगमको समग्र वासलातमा असर पर्दै आएको छ । पेट्रोलको २१ प्रतिशत र ग्यासको १७ प्रतिशत हिस्सा रहेको छ ।

खरिदको तुलनामा नेपाली बजारमा मूल्यवृद्धिदर भने कम
आयल निगम पुस ०७७ देखि निरन्तर घाटामा छ । निगमले १७ पुस ०७७ मा पेट्रोल ४७.५३ रुपैयाँ र डिजेल ४९ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको थियो । सोमबार नयाँ खरिद पाउँदा पेट्रोल एक सय रुपैयाँ र डिजेल एक सय २४ रुपैयाँ प्रतिलिटर आसपास खरिददर हुन पुगेको छ । आइओसीले पठाएको यो खरिददर पेट्रोलमा एक सय ११ प्रतिशत र डिजेलमा एक सय ५४ प्रतिशतको वृद्धिदर हो ।

प्रकाशित : मङ्गलबार, साउन १७, २०७९०६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमेरिकाको पाठ्यक्रममा विष्णुमाया परियारको जीवनी !