रोनाल्डोको कीर्तिमान डिबालाले तोडे !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले इटालीमा एकै दिनमा सर्वाधिक जर्सी विक्री भएको क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

रोनाल्डोसँग नै युभेन्ट्समा खेलेका डिबाला आफ्नो सम्झौता सकिएपछि अर्को सिरि ए क्लब एएस रोमामा आबद्ध भएका थिए । उनलाई अनुबन्ध गरेर जर्सी सार्वजनिक भएको पहिलो दिन अत्यधिक जर्सी विक्री भएको जनाएको छ । प्रारम्भिक गणना अनुसार पहिलो २४ घण्टामा रोमाले विश्वभर ५ लाख ३५ हजार जर्सी बेचेको छ ।

सन् २०१८ मा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको दिन उनको जर्सी ठूलो संख्यामा विक्री भएको थियो । त्यसबेला युभेन्टसले रोनाल्डोको ५ लाख २० हजार जर्सी बेचेको तथ्यांक थियो । फ्रि ट्रान्सफरमा रोमा पुगेका डेबालालाई रोमामा भव्य स्वागत पनि गरिएको छ । उनको नाम अंकित जर्सी किन्न रोमाको स्टोरमा ठुलो लाम लागेको थियो ।

‘विहानदेखि हामी एक छिन पनि बसेका छैनौं,’ रोमाको स्टोरमा रहेका एक कामदारले भने,‘हामीले मात्र डिबालाको नाम रहेको जर्सी प्रिन्ट गरिरहेका छौं ।’ क्लबको वेबसाइटमा पनि समर्थकहरुले डिबालाको नाम अंकित जर्सी नै खोजिरहेका थिए ।

टोटीको जर्सी नं १० अस्वीकार

रोमाले युभेन्ट्स तथा पार्लेमोका पूर्व स्ट्राइकर डिबालालाई जर्सी नं १० लगाउने प्रस्ताव गरेको थियो । रोमामा दिग्गज फरवार्ड फ्रान्सिस्को टोटीले प्रयोग गरेयता जर्सी नं १० अर्को खेलाडीले लगाएका छैनन् । डिबालाले उक्त प्रस्ताव अस्विकार गर्दै जर्सी नं २१ लगाउने भएका छन् । डिबालाले २१ नम्बर जर्सी अर्जेन्टिनी राष्ट्रिय टोलीबाट पनि लगाउँदै आएका छन् । उनले युभेन्टसमा पनि २१ नम्बर जर्सी प्रयोग गरेपछि १० नम्बर लगाएका थिए ।

डिबाला यसअघि इन्टर जाने चर्चा थियो । तर रोमेलु लुकाकु चेल्सीबाट पुनः इन्टर गएपछि डिबाला रोमा पुगेका थिए । उनको निर्णयमा प्रशिक्षक जोसे मोउरिन्होको पनि भूमिका रहेको थियो ।

प्रकाशित : बुधबार, साउन ११, २०७९१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

त्रिशूली नदी किनारमा ट्रक खस्यो, आगो पनि लाग्यो !