क्रुसको दावी – ‘रियलले सबै ६ उपाधि जित्छ’

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले अर्को सिजन क्लबले प्रतिस्पर्धा गर्ने सबै ६ उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको रियलले यस पटक आधा दर्जन प्रतियोगितामा सहभागिता जनाउनेछ । ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा नियमित उपस्थिति रहेको क्लबले गत सिजनको नतिजाका कारण थप ३ प्रतियोगिता खेल्दैछ । स्पेनिस सुपर कप, युरोपेली सुपर कप र फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले प्रतिस्पर्धा गर्नेछ ।

क्रुसले रियल म्याड्रिड टिभीका लागि बोल्दै सबै ६ उपाधि जित्ने लक्ष्य राखेको बताए । ‘मलाई आशा छ हामी सबै उपाधि जित्नका लागि खेल्नेछौं । रियल म्याड्रिडमा तपाईं सबै उपाधि जित्न चाहनुहुन्छ, भलै त्यो सधैं सम्भव हुँदैन ।’

‘हामी ६ उपाधिका लागि खेल्दैछौं । र हामीलाई जसले चिनेको छ, वहाँहरुले बुझ्नुहुन्छ कि हामी हरेक उपाधि जित्न खेल्छौं । हामी हरेक दिन आफ्नो स्तर सुधारिरहेका छौं । नयाँ सिजनको लागि तयार हुँदैछौं ।’

‘अहिले सबैको नजर अगस्ट १० को पहिलो उपाधिमा छ । त्यसपछि पनि महत्त्वपूर्ण खेलका लागि तयार हुनुपर्छ । सदाझैं प्रि-सिजनले निकै महत्त्व बोकेको छ । हामी लामो सिजन खेल्ने भएकाले जस्तोसुकै चुनौतीका लागि तयार हुनुपर्छ ।’

यसपटक युरोपेली सुपर कपमा रियलले जर्मन प्रतिद्वन्द्वीसँग खेल्दैछ । युरोपा लिग विजेता आइन्ट्राक्ट फ्रान्कफर्ट पहिलो पटक युरोपेली प्रतियोगिता जितेपछि सुपर कपमा छनोट भएको हो । खेल बुधबार १० अगस्टमा फिनल्याण्डको हेलसिन्की मैदानमा हुनेछ । नेपाली समयअनुसार उक्त खेल विहीबार मध्यरात १२:४५ बजे (बुधबार राती) हुनेछ ।

प्रकाशित : मङ्गलबार, साउन १०, २०७९१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोनाल्डोको कीर्तिमान डिबालाले तोडे !