काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ। मंगलबारको बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठाएका हुन्।
बैठकलाई सम्बोधन गर्नेक्रममा पराजुलीले देशमा धार्मिक बहसका कुरा पनि उठिरहेको अवस्थामा नेपाली कांग्रेसले हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताए। धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने उनको भनाई छ।
“देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्। धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन्। यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छ। यसले कांग्रेसलाई सम्पूर्ण रूपमा हित गर्ने छ। यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लिओस् भन्ने मेरो आग्रह छ।”,उनले भने।
त्यस्तै पराजुलीले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने पनि बताए। हालकै अवस्थामा प्रदेश सरकार चलिरहे जनतामा अहिलेको भन्दा धेरै वितृष्णा पैदा हुने उनको भनाई छ।