उपेन्द्रमाथि बाबुरामको आरोपै आरोप

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

बाबुराम समूहको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बाबुराम र उपेन्द्र समूहबीच विवाद चर्किएको बेला बाबुराम समूहको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । उता बुधबारदेखि वीरगन्जमा उपेन्द्र समूहको बैठक बस्दै छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको दाबी गरेका छन् । संख्यात्मक रूपमा पनि आप्mनो पक्षमा नै बहुमत रहको दाबी उनले गरेका छन् ।

तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आप्mनो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको भट्टराईको भनाइ छ । जसपा विधानअनुसार पार्टीमा दुई अध्यक्षको व्यवस्था रहेकोमा ठाकुरले छुट्टै पार्टी गठन गरेपछि एक अध्यक्ष पद रिक्त रहेको थियो ।

‘गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एक जना जो भए पनि बनाउनुपर्छ भनेँ,’ भट्टराईले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।’

पार्टी दर्ता गराउँदा देखेको आप्mनो सपनामा कुठाराघात भइरहेको उनले बताए । पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने दाबी उनको छ । अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने पनि उनले बताए ।

‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईंले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको छ, त्यो बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस्,’ भट्टराईले भने । अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी पनि गरे ।

पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको जनाउँदै उनले पार्टी समायोजनकै बेलादेखि उपेन्द्रमा ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको जिकिर गरेका छन् । सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुनेगरी समयमै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्देश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउने, कार्यकर्तामा निराशा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम भएको आरोप भट्टराईको छ ।

-राजधानी दैनिकबाट

प्रकाशित : बुधबार, असार २९, २०७९०८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसदीय विशेष समितिले माग्यो सीसीटीभी फुटेज ! मन्त्रालयले कसरी देला ?