फुटको डिलमा जसपा, राम-राम मात्रै भन्न सकिने अवस्था !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ। पार्टीभित्रको अर्को खेमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले मंगलबार नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्‍यो। यसबाट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दुवै पक्षले दिएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

यादव पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार वीरगञ्जस्थित पुजन होटेलमा गरेको छ। यादव पक्षले बुधबार र बिहीबारका लागि वीरगन्जको टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार केही गैरराजनीतिक चरित्र भएका अराजक व्यक्तिले जसपा केन्द्रीय समितिको बैठक सम्बन्धमा भ्रमात्मक प्रचार गरिरहेका छन्।

उनले भने, ‘असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समिति विस्तारिक बैठक वैधानिक एवं आधिकारिक बैठक होइन, षड्यन्त्र हो। पार्टीको वैधानिक र आधिकारिक केन्द्रीय समितिको विस्तारित बैठक असार २९ र ३० गते वीरगन्जमा हुँदै छ,’ उनले भने।

भट्टराई पक्षले मंगलबार काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा आयोजना गरेको केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी नेता महिन्द्रराय यादवले भने, ‘जसपाभित्र आन्तरिक लोकतन्त्र बहाली गराउन खोज्दा आफूहरूलाई नेतृत्वले एक्ल्यायो।’ आफूहरूलाई जानकारी नै नगराईकन वीरगन्जमा बैठक डाकिनु अनुचित भएको उनले बताए। भट्टराई पक्षको बैठक बुधबार पनि बस्नेछ। ‘पार्टी विभाजन रोक्न अधिकतम पहल गर्छु,’ महिन्द्ररायले भने, ‘सास रहुन्जेलसम्म पार्टी एकताका लागि पहल गर्छु। हाम्रो प्रयासले मात्र बच्ने सम्भावना कम छ।’

यता वीरगन्जमा बोलाइएको जसपा केन्द्रीय समिति र त्यसको विस्तारित बैठकमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव मंगलबार बिहान सिमरा विमानस्थलमा ओर्लिंदा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वनमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले भव्य स्वागत गरेका थिए।

जसपा यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबारदेखि वीरगन्जको टाउन हलमा गर्दैछ। ‘यो बैठक वैधानिक भएकाले जसपाका केन्द्रीय सदस्य एवं कार्यकारिणी सदस्यहरूको सहभागिता हुनेमा ढुक्क छौं,’ कार्यकारिणी सदस्य अधिकारीले भने, ‘वीरगन्जको बैठकबाहेक कुनै पनि बैठक आधिकारिक र वैधानिक होइनन्।’

केन्द्रीय कार्यकारिणी समितिको मंगलबारकोे बैठकमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी समिति सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, कृषि तथा पशुपक्षीमन्त्री मिर्गेन्द्रसिंह यादवसहित २० जना कार्यकारिणी सदस्यको सहभागिता रहेको कार्यकारिणी समिति सदस्य मनीष सुमनले जानकारी दिए।

प्रकाशित : बुधबार, असार २९, २०७९०८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपेन्द्रमाथि बाबुरामको आरोपै आरोप