रोनाल्डोलाई जसरी पनि युरोपा लिग खेलाउने युनाइटेडको योजना !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो योजनामा रहेको बताएका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको बेला प्रशिक्षक ह्यागले उनलाई बेच्ने योजना नभएको बताएका हुन् । रोनाल्डो युनाईटेडको प्रि–सिजन भ्रमणमा छैनन् । रोनाल्डोबिना युनाईटेडको टोली थाइल्याण्ड भ्रमणमा गएपछि उनले क्लब छाड्ने चर्चा झनै चुलिएको थियो ।

‘पारिवारिक र व्यक्तिगत समस्याका कारण उनी अहिले प्रि–सिजनको हाम्रो टोलीमा छैनन् । हामी यो सिजन क्रिष्टियानो रोनाल्डोसहितको योजनामा छौं । त्यहिँ हो ,’ मुख्य प्रशिक्षक टेन ह्यागले भने, ‘म उनीसँग काम गर्न उत्सुक छु । रोनाल्डो विक्रीमा छैनन्। उनी हाम्रो योजनामा छन्। हामी सँगै सफलता चाहन्छौं ।’

रोनाल्डोले पोर्चुगलमै व्यक्तिगत प्रशिक्षण गरिरहेका छन् । थाइल्यान्ड भ्रमण सकेपछि युनाइटेड अष्ट्रेलिया जाने तयारीमा रहँदा रोनाल्डो उक्त प्रशिक्षण क्याम्पमा जोडिने क्लबले जनाएको छ । च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा रहेको रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेको चर्चा छ । सम्झौता अवधि अझै एक वर्ष बाँकी रहेको उनले क्लब छाड्ने अनुमति मागिसकेका छन् ।

क्लब छाड्ने चर्चा चलिरहँदा उनी प्रिमियर लिग क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएका थिए । बायर्नले भने रोनाल्डो आफ्नो योजनामा नरहेको बताइसकेको छ । यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्ने योजनामा रहेको छ ।

पाँच पटकका बालेन डी’ओर विजेता ३७ वर्षीय फरवार्ड स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सबाट खेलेर गत सिजन युनाईटेड फर्किएका थिए । रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता बनेपनि उनको टोली च्याम्पियन्स लिगमा छनोट हुन सकेन ।

यस्तै प्रशिक्षक टेन ह्यागले ह्यारी मगाएर नै टोलीको कप्तान रहने बताएका छन् । ‘ह्यारी नै टोलीको कप्तान हुनेछन् । उनी एक वर्षभन्दा बढी समयदेखि कप्तान छन् । उनले धेरै सफलता हात पारेका छन् । मलाई यस विषयमा कुनै शंक छैन ,’ उनले थपे ।

युनाइटेडले यो समरमा फेयनुर्डबाट फुलब्याक टाइरेल मलासियालाई अनुबन्ध गरिसकेको छ । फ्रि एजेन्टमा क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गर्ने योजनामा छ। क्याटलान क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रान्की डि जोङलाई पनि अनुबन्ध गर्ने योजनामा रहेको छ ।

उनले थपे ,‘हामी सही खेलाडी थप्न चहान्छौं । हामीसँग साँचै राम्रो टोली छ । हामी हाम्रो खेल्ने तरिका विकास गर्न प्रशिक्षणमा छौं । अवसर छ, हामी राम्रो गर्नेछौं ।’

प्रकाशित : मङ्गलबार, असार २८, २०७९०८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चेल्सीमा स्टर्लिङ, कति गर्यो खर्च ?