चेल्सीमा स्टर्लिङ, कति गर्यो खर्च ?

एजेन्सी – इंग्लिस क्लब चेल्सीले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ । क्लबले २७ वर्षीय अनुभवी खेलाडी भित्र्याउन ५० मिलियन पाउन्ड खर्च गरेको हो ।

लिभरपुलबाट सन् २०१५ मा सिटी पुगेका स्टर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरे । ४९ मिलियन पाउन्ड खर्च गरेको सिटीले त्यस समयमा ४ पटक प्रिमियर लिग उपाधि जितेको थियो । स्टर्लिङले हालसम्म राष्ट्रिय टोलीबाट ७७ खेल खेलिसकेका छन् । उनले चेल्सीसँग ५ वर्षको लागि सम्झौता गरेका हुन् ।

चेल्सीका नयाँ मालिक टड बोहलीको आगमनपछि स्टर्लिङ क्लबले अनुबन्ध गरेको सबैभन्दा नाम चलेका खेलाडी हुन् । क्लबले अब नेपोलीका डिफेन्डर कालिडु कुलिबाली र सिटीबाट अर्का डिफेन्डर नाथन आके अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

सिटीमा एक वर्ष सम्झौता बाँकी रहेका स्टर्लिङलाई अन्य क्लबले पनि आँखा लगाएका थिए । सिटीले अर्को सिजन सित्तैमा जानुभन्दा यसै सिजन मोटो रकममा उनलाई फुकुवा गरेको हो । स्टर्लिङ हाल अमेरिका टुरमा रहेको चेल्सीसँग जोडीइसकेका छन् ।

चेल्सी पुगेपछि स्टर्लिङले आफू अझै धेरै सफलता हासिल गर्न उत्साहित रहेको बताएका छन् । ‘मैले मेरो करिअरमा धेरै सफलता प्राप्त गरेको छु । तर अझै मैले धेरै जित्न सक्छु । र म चेल्सीबाट केहि हासिल गर्न चाहन्छु,’ उनले भने ।

‘लन्डन मेरो घर हो । मेरो करिअर यहींबाट सुरु भयो । म अब हरेक दिन मेरो परिवार र साथीहरुको अघि खेल्न पाउँछु । म यहाँको समर्थकलाई भेट्न पनि आतुर छु,’ उनले थपे ।

प्रकाशित : बिहिबार, असार ३०, २०७९०८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक मौसम : कस्तो रहला आगामी साताको मौसम ?