प्रधानमन्त्रीमा गगन थापाको दावेदारी, विश्वप्रकाशको समर्थन !

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी निर्वाचन पश्चात प्रधानमन्त्री पदका लागि दावी गर्ने योजनामा छन्। थापाले सार्वजनिक रुपमै आफू प्रधानमन्त्री पद सम्हाल्न सक्षम रहेको र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री पदका लागि लड्ने घोषणा गरिसकेका छन्।

थापाको सो घोषणासँगै नेपाली कांग्रेसमा छुट्टै तरंग पैदा भएको छ। थापा भन्दा धेरै सिनियर नेताहरु प्रधानमन्त्री बन्ने लाइनमा छन्। तर थापाले प्रधानमन्त्री पदमा दावी गरेपछि सभापति शेरबहादुर देउवा समेत तनावमा परेको बताइन्छ।

यसैबीच नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा थापाले प्रधानमन्त्रीको दावी गरेमा आफ्नो समर्थन रहने बताएका छन्। आइतबार अमेरिकामा आयोजित एक कार्यक्रममा बोल्नेक्रममा शर्माले थापालाई आफ्नो समर्थन रहने बताएका हुन्।

कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया आयोजना गरेको कार्यक्रममा बोल्नेक्रममा शर्माले ५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक रहेको बताए। त्यसक्रममा उनले बिपी कोइराला र शेरबहादुर देउवा पनि ५० वर्षको उमेरकै हाराहारीमा प्रधानमन्त्री बनेको उल्लेख गरे।

“५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।”,शर्माले भने। प्रधानमन्त्रीमा अब थापाले दाबी गर्ने भए आफूले समर्थन गर्ने शर्माको भनाई छ।

उनले भने,”कांग्रेसबाट बिपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन, गगन थापा ५० वर्षमुनिकै हो। प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ।”

थापाले केहि समय अगाडी एक अन्तर्वार्ताका क्रममा आफू प्रधानमन्त्री पदका लागि तयार रहेको बताएका थिए।

प्रकाशित : आइतबार, असार २६, २०७९१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ढिलो-चाँडो नेपालको हालत श्रीलंकाकै हुने, नारायणकाजी श्रेष्ठले गरे ठोकुवा !