एजेन्सी – ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । प्रिमियर लिग प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउन चासो देखाएपनि ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन् ।
सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले रोड्रिगोलाई दीर्घकालीन रुपमै क्लबमा राख्न सहमत भएको हो ।
गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भुमिका निभाउँदा गोल पनि गरेका थिए । उनले क्वाटरफाइनलमा चेल्सीविरुद्ध र सेमिफाइनलमा चेल्सीविरुद्ध महत्वपूर्ण गोल गरेका थिए ।
रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलव वृद्धिसँगै १ विलियन युरो रिलिज क्लज राखिएको छ । रोड्रिगोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबले चासो देखाइरहेपनि रियलले आफ्ना युवा स्टारलाई क्लबमै राखेको हो ।
रियलले रोड्रिगोललाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । सुरुवाती सिजनमा उनी रियलको रिजर्भ टोलीमा रहेका थिए । त्यहाँ उच्च प्रदर्शन गरेपनि उनी सिनियर टोलीमा रहँदै आएका छन् ।
विरलै अवसर पाएका २१ वर्षीय रोड्रिगोले पछिल्लो समय पाएको अवसरलाई भरपुर सदुपयोग गर्दै क्लबको मन जित्न सफल भएका छन् । रियलबाट रोड्रिगोले तीन सिजनमा १०८ खेल खेल्दा १८ गोल गरेका छन् ।
उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा रहेका छन् । उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन् ।