पार्टीभित्र अन्तर्घाती खोज्दै एमाले !

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो । यो समाचार राजधानी दैनिकबाट प्रकाशित छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे सो कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाहीको सिफारिसलगायतका काम गर्नेछ ।

कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटीका सदस्य खगराज अधिकारी सो कमिटीको सदस्य रहेका छन् ।

पार्टीभित्रैबाट भएका अन्तर्घातका घटनाको छानबिन र कारबाहीका सिफारिस गर्न सो कमिटी गठन भएको प्रवक्ता गुरुङले बताए । एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भिक निष्कर्ष रहेको छ ।

गुरुङले भने, ‘निर्वाचनका समस्या अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको छ । सो उजुरीमाथि छानबिन गर्न समिति बनाउने निर्णय भएको छ ।’

यसैगरी, एमालेले प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उनले बताए । सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै पार्टीका उपाध्यक्षलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेसमा उपाध्यक्ष सुरेन्द्र पण्डे, बाग्मतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

उनीहरूले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महँगी नियन्त्रणमा सरकारलाई दबाब दिने, विपद्मा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्लास्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्ने गुरुङले बताए ।

प्रकाशित : सोमबार, असार २०, २०७९०७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा छिटो भन्दा छिटो फैलिने कोरोनाको नयाँ उपप्रजाति भेटियो !