नेपालमा छिटो भन्दा छिटो फैलिने कोरोनाको नयाँ उपप्रजाति भेटियो !

काठमाडौं । कोभिड–१९ का बिरामीको संख्या विस्तारै बढ्दै गएको अवस्थामा नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको आनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको बताउनुभयो ।

नेपालमा पछिल्लो समय नयाँ प्रजाति देखिनुले हाल नेपालमा फैलिरहेको कोरोना भाइरस यही हो या होइन भन्नेबारे पुष्टि भई नसकेको डा. श्रेष्ठ बताउनुहुन्छ । उहाँले अन्य ल्याबको नमुना ल्याई अनुन्धान गरिएकाले संक्रमित व्यक्ति को को हो भन्नेबारे यकिन नभएको बताउनुभयो । तर, अस्पतालले यसअघि पनि कोरोना संक्रमण उच्च गतिमा बढेका बेला यसरी नै अनुसन्धान गरी स्वास्थ्य मन्त्रालयले स्वीकृति विश्व स्वास्थ्य संगठनले पुष्टि गरेपछि मात्र मुख खोलेको थियो ।

नेपालमा कोरोना संक्रमण पछि धेरै अध्ययन अनुसन्धान भइरहेको भए पनि सरकारको गोप्य नीतिका कारण रोगका बारेमा समयमै सचेत गराउने वा सार्वजनिक गर्ने वातावरण बनिनसकेको स्वास्थ्य सेवा विभागका एक चिकित्सक बताउँछन् । धुलिखेल अस्पतालमा पुष्टि भएको नयाँ उपप्रजातिका विषयमा पनि अनुसन्धानकर्ताले खुलेर जानकारी गराउन नसकेकै कारण अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको बताइयो । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको अवस्थालाई भने स्वास्थ्य मन्त्रालयको दैनिक सार्वजनिक हुने रिपोर्टले पुष्टि गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना संक्रमितको २४ घण्टाको रिपोर्टमा २ हजार १ सय २० नमुना संकलन गरेकोमा ५३ जना संक्रमित पुष्टि गरेको छ । त्यसै गरी आइबारसम्म सक्रिय संक्रमित ३ सय ३३ जना रहेका छन् । त्यसै गरी शनिबार सार्वजनिक गरेको रिपोर्टमा ४४ जना नयाँ संक्रमित पुष्टि भएको थियो । त्यस्तै, शुक्रबार ५० जना नयाँ संक्रमित पुष्टि भएको छ । २०७९ जेठ १८ गतेको रिपोर्टमा १५ जना नयाँ संक्रमित देखिएकोमा एक महिनाको अन्तरमा चार गुणाले बढ्नुले नेपालमा नयाँ भेरियन्टको उपप्रजातिको संक्रमण वृद्धि भएको पुष्टि गर्ने आधार बनेको पनि स्वास्थ्य सेवा विभागका चिकित्सकको ठम्याइ छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जर्मनीलगायतका देशमा बढी संक्रमण फैलिएको चर्चा भइरहँदा नेपालमा पनि पुष्टि हुनुले थप सजगता अपनाउनुपर्ने चिकित्सकहरूको ठम्याई छ ।अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । विश्वको इतिहासले पनि यो उपप्रजातिको फैलावट छिटो गतिमा रहेकाले नेपालमा पनि पछिल्लो समय बढेको संख्यालाई हेर्दा कतै नयाँ प्रजातिकै फैलावट त हैन भन्ने अवस्था आएको छ । यस बारेमा थप अनुसन्धान गरी पुष्टि हुन बाँकी रहेको डा.पुन बताउनुहुन्छ ।

प्रकाशित : सोमबार, असार २०, २०७९०७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाबुराम भट्टराई अब उपेन्द्र यादवसँग सँगै बस्न नसक्ने !