काठमाडौँ : बालबालिकाको पहिलो गुरु मातापिता हुन्। मातापिताले दिएको शिक्षा र संस्कारले नै बालबालिकाहरुलाई असल या खराब व्यक्ति बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ। धेरै आमाबुबा आफ्ना छोराछोरीबाट ठूल्ठूला आशा राख्छन्। तर अभिभावकहरुले प्राय: छोराछोरीहरुलाई आफ्नो अपेक्षा पूरा गर्न लायक बनाउने दायित्व बोध गर्न बिर्सिन्छन्। आचार्य चाणक्यले पनि यहीँ कुरामा विश्वास गरेका छन्।

आचार्य चाणक्य बाल्यकालदेखि नै बालबालिकाको राम्रो शिक्षा र संस्कारमा अभिभावकले ध्यान दिनुपर्ने बताउँछन्। उनीहरुलाई असल मान्छे बनाउनु अभिभावकको कर्तव्य हो। तर धेरै आमाबाबुले केही गल्ती गरेर आफ्नो बच्चाको भविष्य बिगार्छन्। आचार्य चाणक्य यस्ता गल्ती गर्ने अभिभावकलाई सन्तानको शत्रु मान्छन्। त्यसोभए आमाबाबुले कस्ता गल्तीहरू गर्नबाट बच्नुपर्छ त ?

१. पुत्राश्च विविधैः शीलैर्नियोज्याः सततं बुधैः, नीतिज्ञाः शीलसम्पन्ना भवन्ति कुलपूजिता:

आचार्य चाणक्यको यो श्लोकको अर्थ हो,अभिभावकले आफ्ना सन्तानलाई सद्गुणले सम्पन्न बनाउनुपर्छ। उनीहरुलाई शालीनता सिकाउनुपर्छ। तब मात्र बच्चाहरूले तपाईको परिवारको नाम रोशन गर्नेछन्। राम्रो बीउले मात्र राम्रो फल दिन्छ। तर तपाईले आफ्नो इच्छा पूर्ति गर्नको लागि बच्चालाई दबाब दिनुहुँदैन्। आफ्नो व्यक्तिगत लाभको लागि बच्चाहरुलाई कहिल्यै झुट बोल्न नसिकाउनुहोस्। बच्चाको झुट बोल्ने बानी भावी दिनमा तपाईको लागि समस्या बन्नेछ। यसैले बालबालिकामा असल गुण र विनम्र स्वभावको विकास गरौँ ।
२. माता शत्रुः पिता वैरी येन बालो न पाठितः, न शोभते सभामध्ये हंसमध्ये वको यथा

यस श्लोकमा आचार्य चाणक्यले बालबालिकाको उच्च शिक्षामा जोड दिएका छन्। उनले अभिभावकले बालबालिकाको पढाइलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। बालबालिकाको शिक्षामा ध्यान नदिने वा शिक्षाबाट वञ्चित राख्ने अभिभावक बालबालिकाका शत्रुजस्तै हुन्छन्। बच्चा यदि अशिक्षित रह्यो भने सभ्य समाजमा उसले एक्लो महसुस गर्न थाल्छ। मानिसहरुले उसको सम्मान पनि गर्दैन्। यसले उसको आत्मविश्वास पनि घटाउँछ।
३. लालनाद् बहवो दोषास्ताडनाद् बहवो गुणाः, तस्मात्पुत्रं च शिष्यं च ताडयेन्नतुलालयेत्

यस श्लोकमा चाणक्यले बच्चाहरूलाई हद भन्दा बढी माया-ममता दिनुहुँदैन भनेका छन्। उसले गल्ती गर्छ भने उसलाई गाली गर्नुपर्छ। उसलाई सही र गलत चीजको बारेमा अन्तर बताउनुपर्दछ। उसको गल्तीलाई बेवास्ता गर्नुहुँदैन्। बच्चालाई धेरै पुल्पुल्याउन हुँदैन्। उसले सबै कुरा आफ्नै मर्जीले गर्न थाल्छ। गल्ती गर्न कहिल्यै हिच्किचाउँदैन्। गलत बाटोमा हिड्न थाल्छ। कुलको नाम माटोमा मिसाउँछ। यी सबैको दोष आमाबुबाको थाप्लोमा पर्नेछ। त्यसैले बेलामा ध्यान पुर्याउनुहोला।
