कालाष्टमी व्रत भगवान शिवको रुद्रावतार काल भैरवको लागि समर्पित छ। यो व्रत प्रत्येक महिनाको कृष्ण पक्षको अष्टमीमा बस्ने गरिन्छ । वैशाख महिनाको कालाष्टमी व्रत भोलि अर्थात् वैशाख २३ गते शनिबार मनाइँदै छ । यस दिन काल भैरवको विधि अनुसार पूजा गरिन्छ ।
रोगबाट र अकाल मृत्युबाट मुक्ति पाउने उपाय
कालभैरवको पूजा गर्नाले रोग, अज्ञात भय, अकाल मृत्युको भयबाट मुक्ति मिल्ने जनविश्वास छ । त्यसैले यो व्रत राखेर शुभ समयमा पूजा गर्नुपर्दछ । यस पटक वैशाख महिनाको कृष्ण पक्षको अष्टमी तिथि वैशाख १० गते शनिबार बिहान ६ः२७ बजेदेखि प्रारम्भ भई वैशाख ११ गते आइतबार बिहान ४ः२९ बजे समापन हुनेछ ।
कालाष्टमी पूजा मुहूर्त
यसपटक कालाष्टमी व्रतको दिन त्रिपुष्कर योग र सर्वार्थ सिद्धि योग बनेको छ । यस्तो शुभ योगमा पूजा गर्दा फल प्राप्त हुने सम्भावना बढ्ने मान्यता रहेको छ । सर्वार्थ सिद्धि योग २३ अप्रिल बेलुका ६:५४ बजेदेखि २४ अप्रिलको बिहान ५:४७ बजेसम्म रहनेछ। यसै गरी त्रिपुष्कर योग २३ अप्रिलको बिहान ५:४८ बजेदेखि २४ अप्रिलको बिहान ६:२७ बजेसम्म रहनेछ। त्यसैले भक्तजनले बैशाख १० गते बिहानदेखि रातिसम्म जुनसुकै समयमा पनि पूजा गर्न सक्नेछन् । त्यसै गरी अभिजित मुहूर्त ११ः५४ देखि १२ः४६ बजेसम्म हुनेछ ।
कालाष्टमीको व्रत कसरी गर्ने ?
कालाष्टमीका दिन बिहान सूर्योदयअघि उठेर नुहाउनुपर्छ । त्यसपछि व्रतको संकल्प लिनुहोस् र सूर्यदेवलाई जल चढाउनुहोस्। त्यसपछि काल भैरव देवको पूजा गर्नुहोस्। उनलाई पञ्चामृत, दूध, दही, धतुरा, फलफूल, फूल, धूप आदि अर्पण गर्नुहोस्। अन्त्यमा भगवान शिवको आरती गर्नुहोस्। तपाईको इच्छा पूरा होस् भनी भगवानसँग प्रार्थना गर्नुहोस्। कालाष्टमी व्रतमा दिनभर केही नखाने र साँझ आरतीपछि फलफूल खानुहोस् । भोलिपल्ट बिहान नुहाएर पूजा गरेपछि व्रत अन्त्य हुन्छ ।