काठमाडौँ : उग्र र पापी ग्रह शनि र मङ्गलको संयोग बैशाख १६ गते(२९ अप्रिल) शुक्रबार कुम्भ राशिमा हुँदैछ। शनिको राशिमा दुवै ग्रहको आगमन एकसाथ हुँदा प्रतिकूल अवस्था सिर्जना हुनेछ। पृथ्वीमा तीव्र गर्मीको प्रकोप हुनेछ, महामारी फैलिने सम्भावना हुनेछ। यससँगै मानिसमा धार्मिक उन्माद, युद्ध, विवाद, क्रोध, आक्रोश जस्ता अवस्था सिर्जना हुनसक्छन्।
अहिले मङ्गल ग्रह कुम्भ राशिमा गोचर गरिरहेको छ। बैशाख १६ गते शनि पनि कुम्भ राशिमै प्रवेश गर्नेछ। यसरी यी दुई ग्रहको संयोग कुम्भ राशिमा हुनेछ। यो संयोजन आउँदो जेठ ३ गतेसम्म रहनेछ। कुल १९ दिन शनि-मङ्गल सँगै रहने भएकोले गर्मीको प्रकोप बढ्नेछ। मानिसहरुमा क्रोध, आवेश, उन्माद बढ्नेछ।
बैशाख १६ गतेदेखि असार २८ गतेसम्म शनि कुम्भ राशिमा गोचर गर्ने कारण शनिको दृष्टि उत्तर दिशामा रहनेछ। यसकारण उत्तर दिशामा भूकम्प, भूक्षय, आँधी-तूफान जस्ता प्राकृतिक विपत्ति आइपर्न सक्छ।
मङ्गल-शनिको संयोग अवधि १९ दिनभर मङ्गल र शनिको राशिका जातकहरुले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। मङ्गलको राशि मेष-वृश्चिक राशि र शनिको राशि मकर-कुम्भ राशिका जातकले आर्थिक सावधानी अपनाउनुपर्नेछ, क्रोध त्याग्नुपर्नेछ, विवादित परिस्थितिबाट टाढै रहने प्रयास गर्नुहोस्।
मङ्गल-शनिको पीडा शान्त गर्न समस्त राशिका जातकहरुले हनुमानजीको पूजा-आराधना गर्नुहोला। दैनिक पञ्चमुखी हनुमानको दर्शन गर्नुहोस्। हनुमान चालिसाको पाठ गर्नुहोस्। हनुमानजीको मूर्तिबाट निकालिएको सिन्दुर टाउकोमा लगाउनुहोस्।