एजेन्सी : दक्षिण भारतीय चलचित्र अभिनेता राम चरणको प्रमुख अभिनय रहेको फिल्म ‘आरआरआर’ ले ऐतिहासिक सफलता हासिल गरिरहेको छ। पछिल्लो समय चर्चाको शिखरमा रहेको यो फिल्मले अझैँ पनि विश्वभर राम्रो व्यापार गरिरहेको छ।
बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित यो फिल्मले पहिलो दिनमा नै २ सय २३ करोड कमाई गरेर इतिहास रचेको थियो। यो फिल्मले एक सातामै ७५० करोड व्यापार गरे पनि अझै बढाउने निश्चित छ। फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन्।
यससँगै आफ्नो दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्न राम चरण स्वयम् हल पुगेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी आइतबार मुम्बईस्थिति गेयटी थिएटरमा पुगेका हुन्। हलमा प्रवेश गरेसँगै उनलाई भीडले चारैतिरबाट घेरेको तस्बिरमा देखिन्छ।
आफ्नो फिल्मलाई यति धेरै माया दिएकोमा फ्यानलाई धन्यवाद दिन उनी हल पुगेका थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिर र भिडियोमा रामचरणलाई फ्यानले घेरेको देख्न सकिन्छ।
रामचरण हलमा पुग्दा फ्यान्सले उनलाई छुनका लागि तछाडमछाड गरेको तस्बिरमा देख्न सकिन्छ। उनी फिल्म हलमा हातमा रुमाल बोकी कालो कुर्ता र कालै पाइजामा लगाएर पुगेका थिए। उनले गोडामा जुत्ता-चप्पल केही लगाएका थिएनन्।
राम चरण भगवान अय्यप्पाको ठूलो भक्त हुन्। उनी स्वामी अय्यप्पाको केरलास्थित सबरीमाला मन्दिरमा जानुअघि ४१ दिनसम्म व्रत बस्छन्। अय्यप्पाका भक्तहरु काला कपडा लगाउँछन् र खाली खुट्टा हिड्छन्।
निर्देशक एसएस राजामौलीको फिल्ममा रामचरणको यो दोस्रो सहकार्य हो। यसअघि मगधीरा फिल्ममा दुवैले एक साथ काम गरेका थिए।