एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टले पाइला-पाइलामा आफ्नो प्रतिभा देखाउँदै अहिलेको स्थानमा आईपुगेकी हुन्। आलिया हालै रिलिज भएको चलचित्र ‘गंगुबाई काठियावाडी’ को सफलतामा रमाईरहेकी छिन्। यो फिल्मले बक्स अफिसमा सुखद् कमाई गरेको छ। आलिया भट्ट पछिल्ला केही दिनदेखि हलिउड प्रोजेक्टलाई लिएर चर्चामा छिन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आलिया छिट्टै नै नेटफ्लिक्सको इन्टर्नेशनल स्पाई थ्रिलर फिल्म ‘हार्ट अफ स्टोन’ मा गल ग्याडोट र जेमी डोर्ननसँग मुख्य भूमिकामा देखिनेछिन्। यो फिल्मबाट आलिया भट्टले हलिउडको दुनियाँमा पाइला राख्ने भएकी छिन्।
प्रसिद्ध बलिउड फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्विटर ह्यान्डलमा यो खबर सेयर गरेका हुन्। उनले आलिया भट्टले आगामी दिनमा गल ग्याडोट र जेमी डोर्ननको फिल्म ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यु गर्ने बताए। फिल्मलाई टम हार्परले निर्देशन गर्नेछन् भने ग्रेग रुका र एलिसन श्रोडरले स्क्रिप्ट लेख्नेछन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने आलिया फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिँदैछिन्। लगभग ६ वर्षको अन्तरालपछि करण जोहरले यो फिल्मको निर्देशन गर्नेछन्। यो फिल्ममा आलिया भट्टसँग रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन्।