भोलि महाशिवरात्रिमा ‘महासंयोग’ : ५ राशिका जातकले हासिल गर्नेछन् धमाकेदार सफलता

काठमाडौँ : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी भोलि देशभर मनाइँदैछ। भोलि यानी फागुन १७ गते मङ्गलबारको दिन महाशिवरात्रि परेको छ। पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ। राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।

भगवान शिव र माता पार्वतीको विवाहोत्‍सव भएको यस दिन अन्तरिक्षमा ग्रहहरुको पनि महासंयोग बन्दैछ। ज्योतिष शास्त्रका अनुसार महाशिवरात्रिको दिन शनिको राशि मकरमा चन्द्रमा, शनि, शुक्र, बुध र मङ्गल ग्रह मिलेर पञ्चग्रही योग बन्दै छ। ग्रहहरुको यो महासंयोग ५ राशिका जातकको लागि अत्यन्तै शुभ मानिन्छ। यी राशिका जातकमाथि शिवजीको असीम कृपा रहनेछ। तिनलाई धन-लाभ र उल्लेखनीय सफलता मिल्नेछ।

महाशिवरात्रिमा यी राशिका जातकहरुमाथि रहनेछ शिवजीको विशेष कृपा

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातकमाथि महाशिवरात्रिमा शिवजीको विशेष कृपा रहनेछ। धन लाभ हुनेछ, जसले आर्थिक स्थिति मजबूत बनाउँछ। विशेषगरी व्यवसायीहरु लाभान्वित हुनेछन्। यस समयावधिमा तपाईको भाग्यमा वृद्धि हुनेछ, जसकारण रोकिएका कामहरु पनि बन्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकका लागि महाशिवरात्रिको दिन बन्ने ग्रहहरुको महासंयोगले भाग्य बदल्नेछ। भाग्यको सहयोगले हरेक काममा सफलता मिल्नेछ। वर्षौँदेखि रोकिएका धन उपलब्ध हुनेछ। कहीँकतैबाट लाभ हुनेछ। प्रेम जीवन राम्रो रहनेछ। आफ्नो कल्याणको लागि महाशिवरात्रिमा भगवान शिवलाई उखुको रस र दूधले अभिषेक गर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

महाशिवरात्रिको दिन  मिथुन राशिका जातकले शुभ समाचार प्राप्त गर्नेछन्। साथै यस दिन भोलेनाथको विशेष आशीर्वाद प्राप्त हुनेछ। दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातकको लागि यो महाशिवरात्रि भौतिक सुखमा वृद्धि गर्ने सिद्ध हुनेछ। धन लाभ हुनेछ। विलासिताका सामानहरु खरिद गर्ने अवसरहरु मिल्नेछ। कामका अवसरहरु प्राप्त हुनेछ। करियरको लागि यो समय राम्रो रहनेछ। यात्रामा जाने योग पनि बन्दैछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिमै ग्रहहरुको संयोग बन्ने भएकाले यस राशिका व्यक्तिलाई सबैभन्दा शुभ प्रभाव मिल्नेछ। करियर-व्यापारमा ठुलो प्रगति हुनेछ। पदोन्नति, नयाँ जागिर मिल्ने र तलब वृद्धिको प्रबल सम्भावना छ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्रिमा बन्यो शिवको यस्तो महासंयोग, हेर्नुहोस् भगवान शिवको पूजा विधि र शुभ मुहूर्त