महाशिवरात्रिमा बन्दैछन् दुर्लभ विशिष्ट योगहरु, निष्ठापूर्वक पूजाआराधना गरे पाउनेछन् मनग्यै लाभ

काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार हरेक वर्ष फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाइने महाशिवरात्रि पर्व यो वर्ष फाल्गुन १७ गते मंगलवारको दिन परेको छ। महाशिवरात्रिको दिन भगवान शिवको विधिवत पूजा गरिन्छ। यो वर्ष महाशिवरात्रिमा विशिष्ट योग बन्दैछ। यो योगमा महाशिवरात्रिमा भगवान शिवको पूजा आराधना गर्नाले शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। तपाई विरुद्धको शत्रुको चाल असफल हुनेछ। शिवको कृपाले तपाईको विजय हुनेछ। तपाईको यश र कीर्तिमा वृद्धि हुनेछ। यो वर्ष महाशिवरात्रिमा पञ्चग्रही योग पनि बन्नेछ।

यो वर्ष महाशिवरात्रि बिहान सबेरै ३:१६ बजेदेखि नै सुरु हुनेछ र जुन राति १ बजेसम्म रहनेछ। महाशिवरात्रिको दिन दुई शुभ योग बन्दैछ। महाशिवरात्रिको परिघ योग दिन दिनमा ११ बजेर ४ मिनेटसम्म छ। त्यसपछि शिव योग प्रारम्भ हुनेछ। यो भोलिपल्ट बिहान ८ बजेर २१ मिनेटसम्म रहनेछ।

परिघ योगमा यदि तपाईले आफ्नो शत्रुलाई परास्त पार्ने योजना बनाउनुभएमा त्यो सफल हुनेछ। यो योगमा शिव पूजा गरी आफ्नो कार्य अगाडी बढाउनुहोस्, तपाईले अवश्यै सफलता पाउनुहुनेछ। शिव योग माङ्गलिक कार्यको लागि शुभ मानिन्छ। यो योगमा तपाईले कुनै पनि शुभ कार्य गर्न सक्नुहुनेछ।

महाशिवरात्रिको दिन अतिपावन हुन्छ। यस दिन जुनसुकै बेला पनि शिवको पूजा गर्न सकिन्छ। महाशिवरात्रिका दिन बिहानैदेखि शिव मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने क्रम सुरु हुनेछ। यस दिन शिवलिं;_गमा बेलपत्र चढाइन्छ।

यो वर्ष महाशिवरात्रिमा पञ्चग्रही योग पनि बन्दैछ। महाशिवरात्रिको दिन मकर राशिमा मङ्गल, शनि, चन्द्रमा, शुक्र र बुध ग्रहसँगै बसेर पञ्चग्रही योग बनाउँछ ।

ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी यस दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ। राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै लजालु हुन्छन् ४ राशिका जातक, मान्छेहरुका अगाडी डराउँछन् बोल्न