एजेन्सी : बलिउड अभिनेता अजय देवगनले सन् २०११ मा रिलिज भएको फिल्म ‘सिङ्घम’ मा बाजीराव सिङ्घमको भूमिका निभाएर खुब वाहवाही बटुलेका थिए। सिङ्घमको सफलता देखेर निर्माताले सन् २०१४ मा यसको सिक्वेल ‘सिंघम रिटर्न्स’ बनाएका थिए। रणवीर सिंहको फिल्म ‘सिम्बा’ रिलिज भएसँगै ‘सिङ्घम ३’ को चर्चा चलिरहेको छ ।
हालै अजय देवगनले सामाजिक सञ्जालमा ‘सिङ्घम ३’ को सङ्केत दिएका छन्। अजय देवगनले आफ्नो ट्विटर ह्यान्डलमा एक भिडियो शेयर गरेका छन्, जसमा उनले एक गेमको सवालको जवाफ दिँदै सिङ्घम फ्रेञ्चाइजको तेस्रो फिल्म लिएर आउने सङ्केत गरेका हुन्।
उक्त भिडियोमा अजय देवगनलाई धेरै प्रश्नहरु सोधिएको छ। गेमको सुरुमा अजय देवगनलाई सुपर हिरो वा सुपर भिलेनको भूमिका निभाउन मन लाग्छ भनेर सोधिएको थियो, जसमा अजयले आफू सुपर भिलेनको भूमिका निभाउन चाहने बताउँछन्।
त्यसपछि अजयलाई फिल्मको रिमेक गर्ने कि सिक्वेलमा काम गर्ने भन्ने प्रश्न सोधिन्छ। यो प्रश्नको जवाफ दिँदै अजय देवगनले सिक्वेलमा काम गर्न चाहेको बताउँछन्। जसपछि भिडियोमा सिङ्घमको टाइटल गीत बज्छ।
यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै अजय देवगन चाँडै सिङ्घम फ्रेन्चाइजीको तेस्रो फिल्ममा देखिने अनुमान गरिएको छ।