‘पुष्पा’ को सफलतापछि रश्मिकाको बढ्यो भाउ, ठाडै अस्वीकार गरिन् यी सुपरस्टार्ससँग काम गर्न

एजेन्सी : दक्षिण भारतीय सिनेमा जगतकी अभिनेत्री रश्मिका मन्डन्ना ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ भनेर पनि परिचित छिन्।  तमिल, तेलुगु र कन्नड सिने दर्शकहरूमाझ उनले आफ्नो छुट्टै परिचय बनाउन सफल भएकी छिन्। उनले अभिनेता विजय देवेराकोन्डासँग गीता गोविन्दम र डियर कमरेड जस्ता ब्लकबस्टर फिल्महरूको माध्यमबाट दर्शकहरूको मन जितेकी छिन्। हालै उनी र अल्लु अर्जुनको मुख्य भूमिका रहेको फिल्म ‘पुष्पा: द राइज’ रिलिज भएको थियो। पुष्पाको ऐतिहासिक सफलतापछि उनको लोकप्रियता पनि ह्वात्तै बढेको छ। अहिले उनी पुष्पाको सिक्वेल ‘पुष्पा : द रुल’ को सुटिङमा व्यस्त छिन्।

रश्मिका मन्डन्नाले आफ्नो अभिनय यात्राको सुरुवात फिल्म ‘किरिक पार्टी’ बाट गरेकी हुन्। उनले सन् २०१६ मा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट सिनेमा जगतमा कदम राखेकी हुन्, उनको यो फिल्म वर्षकै सफल साबित भएको थियो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड निर्माताहरूले यस फिल्मको रिमेकका लागि कार्तिक आर्यनसँग रश्मिकालाई साइन गर्न चाहन्थे तर उनले फेरि त्यहीँ भूमिकामा खेल्न अस्वीकार गरेकी छिन्।

शाहिद कपूरको फिल्म जर्सीका लागि निर्माताहरूले मृणाल ठाकुरलाई लिनुअघि रश्मिका मन्डन्नालाई भूमिका प्रस्ताव गरेका थिए। तर उनले यो भूमिका पनि ठाडै अस्वीकार गरिन्।

मिडिया रिपोर्ट्स अनुसार बलिउड निर्देशक सञ्जय लीला भन्सालीले एउटा फिल्मको लागि रणदीप हुड्डा र रश्मिका मन्डन्नालाई लिन चाहेका थिए। तर रश्मिकाले यो प्रस्ताव पनि स्वीकार गरिनन्।

रश्मिकाको यस्तो व्यवहार देखेर कतिपयले उनलाई सफलताको मात चढेको भन्दै आलोचना गरेका छन् भने कतिपयले उनी चूजी हुँदै आएको अनुमान गरेका छन्।

रश्मिका मन्डन्ना सिद्धार्थ मल्होत्राको फिल्म मिशन मजनुबाट बलिउडमा डेब्यु गर्दैछिन्। यो फिल्मको सुटिङ सकिसकेको छ।

रश्मिका मन्डन्ना फिल्म गुडबायमा बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दैछिन्। रिपोर्टका अनुसार यो फिल्मको सुटिङ पनि सकिएको छ ।

पुष्पाको सफलतापछि पाएको लोकप्रियताले आउँदा दिनहरुमा बलिउडमा उनको माग ह्वात्तै बढ्ने बलियो सम्भावना छ। मोडेलिङको दुनियाँबाट चलचित्रको दुनियाँमा कदम राखेकी रश्मिका छोटो समयमै लोभलाग्दो लोकप्रियता कमाउन सफल अभिनेत्री हुन्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा अभिनेत्री प्रियंकाको ‘ममी फि:गर’ को चर्चा, भाइरल हुँदै अभिनेत्रीका यस्ता तस्वीर !