काठमाडौँ : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ। यो माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रुपमा आआफ्नै विशेषता र साँस्कृतिक महत्वका साथ मनाइन्छ। साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनमा स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।
माघे संक्रान्तिका दिनदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिन्छ। लोकप्रिय ज्योतिषाचार्यले भने,‘सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नु नपर्ने हेमाद्रि, पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ।’
मकर संक्रान्तिको अद्भूत सम्बन्ध महाभारत कालसँग पनि छ। ५८ दिनसम्म तीरको ओछ्यानमा सुतेपछि भीष्म पितामहले आफ्नो प्राण त्याग्नको लागि सूर्यको उत्तरायणको प्रतीक्षा गरे। यहाँ पढ्नुहोस् पौराणिक कथा…
१८ दिनसम्म चलेको महाभारत युद्धमा भीष्म पितामह कौरव पक्षका सेनापति थिए जो १० दिनसम्म टिकी रहे। रणभूमिमा पितामहको युद्ध कौशलबाट पाण्डव व्याकुल थिए। पछि पाण्डवले कौरवको सेनापति ग्रहण गर्नुभन्दा अगाडि भीष्मले राखेको शर्तको फाइदा लिँदै शिखण्डीको मद्दतले भीष्मलाई धनुष छोड्न बाध्य पारे। र अर्जुनले लगातार बाण प्रहार गरी उनलाई जमिनमा खसाले। यद्यपि भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त थियो, त्यहीँ कारण शरीरभरी वाणको प्रहारको बाबजूद पनि उनी जीवित रहे। गम्भीर रुपमा घाइते भएका उनले सूर्य उत्तरायणमा भएपछि मृत्युलाई अंकमाल गर्ने निर्णय लिए । उत्तरायणका क्रममा मृत्यु हुँदा मोक्ष प्राप्त भई स्वर्ग पुग्छ भन्ने मान्यता थियो । यही कारण उनले ५८ दिनसम्म प्रतिक्षा गर्नुपरेको थियो ।