एजेन्सी : आज बलिउड अभिनेता ऋतिक रोशन (Hrithik Roshan) को ४८ औँ जन्मोत्सव हो। जन्मदिनको विशेष अवसरमा अभिनेता र उनका फ्यान्सले निकै विशेष उपहार पाएका छन्। फिल्म मेकर्सले उनको आगामी फिल्म ‘विक्रम वेधा(Vikram Vedha)’ को फर्स्ट लुक सार्वजनिक गरेको छ। विक्रम वेधामा ऋतिक रोशनको फर्स्ट लुकलाई फ्यान्सले अत्यन्तै मन पराएका छन्। भूषण कुमारको टि-सिरिज र रिलायन्स इन्टरटेन्मेन्टका निर्माता, फ्राइडे फिल्मवर्क्स र एस.शशिकान्तको YNOT स्टूडियोजले फर्स्ट लुक सार्वजनिक गरेर ऋतिक रोशनलाई जन्मदिनको शुभकामना दिएका छन्।
फिल्मबाट ऋतिकको फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म ३० सेप्टेम्बर २०२२ मा सिनेमाघरहरुमा रिलिज हुनेछ। फिल्ममा ऋतिक रोशनसँगै सैफ अलि खान पनि मुख्य भूमिकामा देखिनेछन् भने राधिका आप्टे पनि महत्वपूर्ण भूमिकामा छन्।
ऋतिक रोशन फिल्ममा ‘वेधा’ को भूमिकामा देखिनेछन्। हालै सार्वजनिक भएको ऋतिकको लुक हेर्दा उनी निकै दमदार लुकमा देखिएका छन्। कुर्ता र घाँटीमा कालो धाँगो, अस्त-व्यस्त कपाल, अनुहार-छातीमा रगतको धब्बा, नमिलाईएको जुँगा-दाह्री, चस्मामा उनी कमाल देखिएका छन्। उनको यो लुकले उनको क्यारेक्टरको झलक दिन्छ।
विक्रम वेधाको ओरिजिनल भर्जनमा दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति ‘वेधा’ को भूमिकामा देखिएका थिए। ऋतिक रोशनको लुक पनि विजय सेतुपतिको लुक जस्तै उतार्न प्रयास गरिएको प्रस्टै देख्न सकिन्छ। विक्रम वेधा एक निओ-नोयर एक्सन थ्रिलर फिल्म(Neo-noir Action Thriller Film ) हो। जुन भारतीय मेटा-लोककथा विक्रम र बेतालमा आधारित छ।