काठमाडौँ : सन् २०२१ को अन्तिम चन्द्र ग्रहण भोलि १९ नोभेम्बर अर्थात् मङ्सिर ३ गते लाग्दैछ। भोलि लाग्ने यो चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हो। पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ ।
चर्चित ज्योतिष डा. सुनील सिटौलाले भोलि चन्द्रग्रहण नलाग्ने हवाला आफ्नो फेसबुक पेजमा दिँदै लेखेका छन्, ‘मंसिर ३ गते नेपालमा कुनै ग्रहण लाग्दैन/छैन !!!’ उनको भनाईअनुसार ज्योतिष शास्त्रमा बताईएको पाप ग्रहले प्रायः भौतिक सुख र उन्नति दिएतापनि पारिवारिक जीवन र स्वास्थ्यमा चाहि दुख नै दिन्छ।
भोलि कार्तिक शुक्लपक्षको पूर्णिमामा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक लाग्दैन्। यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्छ । सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।