आफ्नो खुट्टामा आफैँ बन्चरो किन हानिरहेका छन् कार्तिक आर्यन ?

एजेन्सी : फिल्मबाट कलाकार बाहिरिनु कुनै नयाँ कुरा हैन। यो वर्षौँदेखि चल्दै आएको छ। फिल्मको छायांकन भईरहँदा बीचैमा कलाकारले फिल्म छोड्दा निर्माता-निर्देशकलाई करौडौंको नोक्सान हुन्छ। तर अभिनेता कार्तिक आर्यन(Kartik Aaryan) को मामिला यसकारण खास बनेको छ कि उनले एक महिनाभन्दा कम समयको अन्तरालमा बलिउडका दुई ठुला ब्यानरका फिल्म छोडेका छन्।

हालै कार्तिकले शाहरुख खानको ब्यानर रेड चिलिज इन्टरटेन्मेन्टको फिल्म ‘फ्रेडी’ बाट हात निकालेका छन्, जुन फिल्ममा उनीसँग कट्रिना कैफ(Katrina Kaif) जस्ता चर्चित अभिनेत्री थिईन्। कार्तिकले साइनिङ अमाउन्टको दुई करोड भारु फिर्ता गरेर आफ्नो इमान्दारिता भने देखाएका छन्। नत्र अरु कलाकार भए त्यो रकम खाएर डकार्थे।

केही दिन अघि क्रियटिभ डिफरेन्सको कारण देखाउँदै फिल्म ‘दोस्ताना २(Dostana 2)’ बाट कार्तिक अलग भएका थिए। कार्तिकले यो फिल्ममा केही दिनसम्म छायांकनसमेत गरिसकेका थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार करणलाई लगभग २० करोड भारुको नोक्सान भएको छ।

शाहरुखको ब्यानरको फिल्म छाड्नुका अलग-अलग कारणहरु बताईएको छ। यो फिल्म बनाउने योजना पछिल्लो दुई-तीन वर्षदेखि चल्दै आएको थियो। यसैबीच कार्तिकको केही फिल्म सफल भए र उनले आफ्नो पारिश्रमिक बढाउन माग राखे। तर निर्माताले उनको कुरा मानेनन्। दोस्रो कारण क्रियटिभ डिफरेन्स भनिएको छ। कार्तिक स्क्रिप्टमा बदलाव ल्याउन चाहन्थे तर फिल्म निर्माताले उनको यो अनुरोधलाई पनि अस्वीकार गरे।

कुनै पनि स्टारलाई फिल्म साइन गर्नु अघि कहानी सुनाइन्छ। फिल्ममा भूमिकाबारे बताइन्छ र यदि कलाकारले भूमिका मन पराएमा फिल्मको लागि सहमति जनाउँछन्। फिल्ममा साइन गरेपछि कलाकारले कहानी या स्क्रिप्टमा बदलावको माग राख्नु बिल्कुलै गलत हो। धेरैपटक यस्तो पनि हुन्छ कि फिल्म साइन गरेपछि कलाकारको केही फिल्म हिट हुन्छन्। तिनको एक खास किसिमको छवि बन्छ र त्यहीँ छविलाई ध्यानमा राख्दै कलाकारले फिल्ममा बदलावको माग राख्छन्। रोमान्टिक फिल्म गरिरहेका हिरोको एक्सन फिल्म हिट हुन्छ र तिनी रोमान्समा पनि एक्सन दृश्य घुसाउने प्रयास गर्न थाल्छन्।

यदि कलाकार ख्यातिप्राप्त सुपरस्टार भए निर्माता-निर्देशक तिनको मागको अगाडी झुक्न पनि तयार हुन्छन्। तर कार्तिकले अहिलेसम्म त्यति साह्रो स्टारडम हासिल गरेका छैनन्।

करण जोहर र शाहरुख खानको दोस्ती जगजाहेर नै छ। कार्तिकले करणको फिल्म छाडेपछि कार्तिकलाई आफ्नो फिल्मबाट शाहरुखले निकालेर आफ्नो मित्रता निभाएको हल्ला पनि बलिउड नगरीमा चलिरहेको छ।

धर्मा प्रोडक्शन र रेड चिलिज जस्ता ठुला ब्यानरका फिल्मबाट कार्तिक जसरी निस्केका छन् त्यसले उनको करियरमा प्रश्नचिह्न खडा गर्छ। उनको यस्तो व्यवहारले उनले भावी दिनहरुमा ठुला ब्यानरहरुबाट फिल्मको लागि प्रस्ताव नपाउन पनि सक्छ। शूटिङ सुरु भईसकेको फिल्मबाट अचानक बाहिरिने जस्ता अपरिपक्व हर्कत गर्दा अरु कलाकारले पनि उनीसँग काम गर्न इच्छा देखाउँदैनन्। यसकारण कार्तिकले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम बन्द गर्नुपर्छ।

प्रकाशित : आइतबार, जेठ १६, २०७८१४:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पागलप्रेमी शाहरुख भन्छन – ‘गौरीले मलाई छाडे कपडा च्यातेर सडकमा उभिई गीत गाउँछु’