एजेन्सी : नेपालसँगै भारतमा पनि कोभिड-१९ को दोस्रो लहर(Second Wave Of Covid-19) झन्-झन् घातक बन्दै गईरहेको छ। समयमै उपचार नपाएर र अक्सिजनको अभावमा मृतकको सङ्ख्या दिनाउनुदिन बढ्दै गएको छ। कोरोना महामारीले धेरैको घरबार नै उजाडेको छ, बच्चाहरुलाई अनाथ-बेसहारा बनाएको छ।
हालै भारतमा कोरोना सङ्क्रमितमहिलाको मृत्यु भएको छ र उनको दुई महिनाको बच्चा टुहुरो भएको छ। जम्मा दुई महिनाको दुधे बालकलाई आमाको दुधको आवश्यक पर्छ। बलिउड अभिनेत्री भूमि पेडनेकर(Bhumi Pednekar)ले सोशल मिडियामा सहयोग गरिदिन गुहार मागेकी छिन्।
भूमि पेडनेकरले ट्वीट गरी बच्चाको लागि दूध खाँचो रहेको भन्दै मद्दत गर्न अपिल गरेकी छिन्। भूमिले ट्वीटरमा लेखेकी छिन् – “२ महिनाको बच्चाको आमाको कोभिड-१९ भाइरसको कारण ज्यान गएको छ। बांकुरा नजिक रहेको यस बच्चालाई दूधको जरुरत छ। वेस्ट बंगालमा रहेका महिलाले आफ्नो दूध फ्रिज गरी दिन सक्नेछन्। कोलकाता, बांकुरा, दुर्गापुर र बिशनुपुरबाट हप्तामा एकपटक दूध जम्मा गर्न सक्नेछन्। यसको लागि रवीना पटेललाई सिधै मेसेज गर्नुहोला।”
भूमि पेडनेकरको ट्वीट सोशल मिडियामा भाइरल भईरहेको छ। उनको यो ट्वीटमा मानिसहरुले आफ्नो धारणा राख्दै चिन्ता व्यक्त गरेका छन्। यस महामारीमा भूमि कोरोना पीडितको सहयोगको लागि जुटिरहेकी छिन्। यसको लागि सोशल मिडियाको सहारा लिईरहेकी छिन्।
भूमिले ५ जनाको कोभिड वारियरको पनि सुरुवात गरेकी छिन्, जसमा अहिले २०० भन्दा बढी मानिसहरु आबद्द छन्। यिनीहरु भारतभर २४ घण्टा, हप्ताको सातै दिन मद्दत गर्न अग्रसर छन्। मानिसहरुलाई अक्सिजन, प्लाज्मा, बेड्स र औषधी पनि उपलब्ध गराईरहेका छन्।