एजेन्सी : पर्दामा कसैसँग भेट हुनु, बिछोडिनु, कोही गुमाउनु, टाढिनु र मृत्युको किस्सालाई बडो कलात्मक सरल तरिकाले प्रस्तुत गरिन्छ। वास्तविक जीवनमा यी सारा चीजहरु भोग्नु उत्तिनै कठिन काम हो। ठुला-ठुला चर्चित हस्तीहरु जो पर्दामा साहसिलो र हिम्मतिलो रुपमा देखिन्छ, उनीहरुमा पनि आफ्नो भावी समयबारे डर हुन्छ। पर्दामा निर्जीव चरित्रलाई सजीव तुल्याउन ज्यान जोखिममा डाल्न हरपल तत्पर रहने केही कलाकारहरुले आफ्नो मृत्यु पछि पनि दोस्रो व्यक्तिको माध्यमबाट जिन्दगी जिउने फैसला गरेका छन्। यसको मतलब उनीहरुले आफ्नो अंग दान गर्ने अठोट गरेका छन्।
ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) :
विश्वका सबैभन्दा सुन्दर महिलाहरु मध्ये एक ऐश्वर्या राय बच्चन मृत्यु पछि पनि यस संसारलाई हेरिरहनेछिन्। उनले आफ्नो सुन्दर आँखा दान गर्ने प्रण गरेकी छिन्।
प्रियंका चोपडा(Priyanka Chopra) :
देसी गर्लको रुपमा चिरपरिचित अभिनेत्री प्रियंका चोपडाले आफ्ना सम्पूर्ण अंग दान दिने सपथ लिएकी छिन्। आफ्ना पिताको मृत्युपछि आफूले यो निर्णय लिएको उनले बताईन्। प्रियंका भन्छिन् – “मैले अंगदानको महत्व बुझेकी छुँ किनकी मेरा पितालाई पनि यसको आवश्यकता थियो।”
आमिर खान(Aamir Khan) :
बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ को उपमा पाएका अभिनेता आमिर खानले आफ्नो मृत्यु पछि आफ्ना शरिरका सम्पूर्ण महत्वपूर्ण अङ्गहरु जस्तै मृगौला, आँखा, मुटु, कलेजो आदि दान दिने घोषणा गरेका छन्। फिल्म ‘शिप अफ थिसियस’ हेरेपछि उक्त फिल्मले आफूलाई अंग दान गर्न घचघच्याएको उनले बताए।
रानी मुखर्जी(Rani Mukerji) :
बलिउडका वरिष्ठ चलचित्र निर्माता आदित्य चोपडाकी पत्नी तथा अभिनेत्री रानी मुखर्जीले आफ्नो आँखा दान दिने घोषणा गरेकी छिन्। अंग दान गरे मात्र चैनको साथ मृत्युवरण हुने उनको व्यक्तिगत विश्वास छ।
आर. माधवन(R. Madhavan) :
बलिउडमा आफ्नो चकलेटी इमेजको लागि चर्चित भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा चलचित्र निर्माता आर. माधवनले आफ्नो शरीरका तीन अंग दान दिने घोषणा गरेका छन्। उनले आँखा, मृगौला र आमाशय दान गर्ने घोषणा गरेका हुन्।
सलमान खान(Salman Khan) :
बलिउडका दबंग सलमान खानले आफ्नो रगत मासी(बोन म्यारो) दान दिने निर्णय लिएका छन्। बोन म्यारोले मानव शरीरमा रगत बनाउन सहयोग गर्दछ।
जया बच्चन(Jaya Bachchan) :
बलिउड महानायक अमिताभ बच्चनकी पत्नी जया बच्चनले आफ्नो आँखा दान दिने घोषणा गरेकी छिन्।
अमिताभ बच्चन(Amitabh Bachchan) :
बलिउडका शहंशाह अमिताभ बच्चनले पनि मृत्यु पछि आफ्नो आँखा दान गर्ने प्रण लिएका छन्।