काठमाडौँ : प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ ।
चैत्र शुक्ल प्रतिपदामा ४८औँ आनन्द संवत्सर नभेटेकाले ४९औँ राक्षस संवत्ससर शुरु भएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । यो तिथि क्षय भएजस्तै अवस्था रहेको समितिले जनाएको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेल गणनाअनुसार गत चैत २३ गतेदेखि नै राक्षस नामको संवत्सर शुरु भएको बताउँछन्। चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा प्रमादी संवत्सर थियो । त्यसपछि आनन्द नामको संवत्सर आएर यस वर्ष चैत्र शुक्ल प्रतिपदा लाग्नुअघि नै राक्षस नामको संवत्सर शुरु भएको उनले सुनाए।
यस वर्ष राक्षस नाम गरेको संवत्सर रहेकाले अल्पवृष्टि भई अनाज उत्पादनमा कमी आउनेछ । समाज निर्दयी हुने, रोग, भय र महङ्गीले जनता आक्रान्त हुनेजस्ता फल बृहत्संहिता नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि राक्षस नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।
ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर शुरु हुन्छ । विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाख महिनादेखि नयाँ वर्ष शुरु हुन्छ । यस वर्ष संयोगले संवत्सर आरम्भ र विक्रम संवत्को नयाँ वर्ष आरम्भ अघिल्लो दिन र भोलिपल्टदेखि शुरु हुँदैछ ।
आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि शुरु गरिएको हो ।
कोरोनाजस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा शुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ । सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गरेका छन् । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।
विसं अनुसारको नयाँ वर्ष वैशाख १ गते बुधबारदेखि शुरु हुँदैछ । वैशाख महिनाको देवता मधुसूदन, देवी मोहिनी र भानुः नामको सूर्य रहेको छ । नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति (गुरूः) रहने समितिले जनाएको छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्र्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ ।
यस पात्रोमा वर्षको शुरूआत वैशाख महिनाको पहिलो दिनदेखि हुन्छ । विसं सूर्यसँग सम्बन्धित भएकाले नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विशाखाबाट वैशाख, ज्येष्ठाबाट जेठ, पूर्वाषाढाबाट आषाढ आदि नाम रहेको हो । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो ।
मेष – मेष राशि हुने व्यक्तिको नव संवत्सर शुभ फलदायक रहनेछ। यस राशिमा सूर्य, शुक्र र चन्द्रमाको बलियो स्थिति खडा हुनेछ। यो नव संवत्सर प्रेमको मामलामा निकै राम्रो रहनेछ। साथै दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको मामलामा पनि अनुकुल नव संवत्सर रहनेछ। यो समस्यामा खासै समस्यामा पर्नुहुने छैन।
वृष – तपाईको लागि हिन्दु नव संवत्सर सामान्य रहनेछ। यो नव संवत्सर राहुको कारण अनावश्यक खर्च हुने योग रहेको छ। साथै मानसिक तनाव जस्ता समस्याको शिकार रहनुहुनेछ। यो नव संवत्सर तपाईको भविष्यको लागि फलदायक साबित रहनेछ। पेसा गर्ने व्यक्तिको पदोन्नति हुनेछ। पेसाको खोजीमा रहने व्यक्तिले पेसा पाउनेछन्। जीवनसाथीको पूरा सहयोग मिल्नेछ। परिवारको सुख र सहयोग प्राप्त हुनेछ।
मिथुन – मिथुन राशि हुने व्यक्तिहरुको लागी हिन्दु नव संवत्सर निकै राम्रो रहनेछ। यश राशिमा मंगल र गुरुले मिलेर पराक्रमको योग बनाउनेछ। यसैक्रममा हरेक सुख प्राप्त हुनेछ। साथै जीवनमा चलिरहेको समस्या पनि कम हुनेछ। जीवन साथीको सुख मिल्नेछ। आर्थिक स्थिति राम्रो रहनेछ। यस नव संवत्सर प्रेम बढ्नुको साथसाथै सम्बन्धमा मिठास बढ्नेछ। विदेशी कारोबारको लागि निकै लाभदायक समय रहेको छ।
कर्कट – यस राशिको नव संवत्सर निकै सामान्य रहनेछ। तपाईको आर्थिक स्थितिमा सुधार आउन सक्छ। भविष्यमा सफलता र पदोन्नतिको योग बन्नेछ। कर्म क्षेत्रमा चन्द्रमा हुनाले उच्च आधिकारीसँग भेट्ने योग बन्नेछ। यस नव संवत्सर शनिको पूर्ण दृष्टि रहनेछ। जसकारण स्वास्थ्य समस्या होला। दाम्पत्यजीवनमा मनमुटाव हुनेछ। साथै प्रेम सम्बन्धमा बाधिएको व्यक्तिको नव संवत्सर निकै फलदायक रहनेछ।
सिंह – सिंह राशिको लागि नव संवत्सर निकै राम्रो रहेको छ। सूर्यको कारण राजयोगको लाभ हुन सक्छ। यस राशीलाई कार्यक्षेत्रमा सफलता,शिक्षा क्षेत्रमा सफलता , पदोन्नति र आर्थिक स्थितिमा लाभ प्राप्त हुनेछ। सिंह राशिलाई परिवारको सुख प्राप्त हुनेछ। साथै प्रेममा पनि सफलता मिल्नेछ। स्वास्थ्यको मामलामा निकै राम्रो समय रहेको छ।
कन्या- कन्या राशि हुने व्यक्तिको नव संवत्सरको सुरुवात खराब रहनेछ। बोलीमा विशेष ध्यान दिनुहोला। पारिवारिक जीवनको मामलामा समय चुनौतिपूर्ण रहनेछ। पारिवारिक जीवनमा झगडा हुन् सक्ला। यधपी कार्य क्षेत्रमा आर्थिक लाभ मिल्नेछ। स्वास्थ्य प्रति निकै चिन्तित रहनुहुनेछ। प्रेमको लागि समय अनुकूल रहेको छैन।
तुला – तुला राशिको लागि नव संवत्सर सामान्य रहनेछ। नव संवत्सरको सुरुवातमा आर्थिक स्थिति सामान्य रहनेछ। तर स्वास्थ्यके प्रति सजग रहन जरुरी रहेको छ । यस राशिमा सूर्यको पूर्ण दृष्टि रहेकोले दाम्पत्यजीवनमा कष्ट हुन् सक्ला। प्रेममा रहेको व्यक्तिको लागि नव संवत्सर सामान्य रहनेछ। यधपी मध्यान्नपछि शब्दमा विशेष ध्यान राख्नुहोला। तुला राशिमा शनिको पूर्ण दृष्टिपात हुनाले विदेशी कारोबार वा विदेशी व्यापारको लागि अनुकुल समय रहेको छ। कुनै पनि कार्यको सुरुवात वृद्दको सल्लाह अनुसार गर्नुहोला।
वृश्चिक – वृश्चिक राशिहुने व्यक्तिको लागि नव संवत्सर सामान्य रहनेछ। नव संवत्सरको सुरुवातमा केतुको कारणले केहि शारीरिक कष्ट हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला। आर्थिक स्थितिमा सुधार आउनुको साथसाथै गोप्य धन पनि प्राप्त हुनेछ। यस नव संवत्सर तपाईको गोप्य शत्रुको नाश हुनेछ। अगस्ट महिनापछि कार्यक्षेत्रमा सफलता मिल्ने प्रबल रहेको छ। व्यवसायमा केहि उतार चढावहरू सामना गर्नुपर्नेछ ।
धनु – धनु राशि हुने व्यक्तिको लागि नव संवत्सर निकै लाभदायक रहनेछ। सबै काम पूरा गर्न सफल रहनुहुनेछ। यस राशीमा मंगलको पूर्ण दृष्टिपात हुनाले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभ मिल्नुको साथसाथै स्वास्थ्यको दृष्टिले समय अनुकूल रहनेछ। यसैक्रममा पिताको सुख र सहयोग प्राप्त हुनेछ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्यजीवनमा सुधार हुनेछ।
मकर – मकर राशि हुने व्यक्तिको लागी नव संवत्सर शुभ रहनेछ। यस नव संवत्सरको सुरुदेखि नै शनिको स्थिति हुनाले हरेक कार्यमा सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति बलियो हुनुको साथसाथै गोप्य धन प्राप्त हुनेछ। मंगलको पूर्ण दृष्टिले यस राशिमा हुने पराक्रम बढ्नेछ। यसैक्रममा प्रसिद्दि प्राप्त हुनेछ। पारिवारिक सुख मिल्नेछ। अगस्ट महिनापछि विदेशी कारोबारमा उन्नति हुनेछ। विदेशबाट रोजगारीको प्रस्ताव आउनेछ। जीवन साथीको पूर्ण सहयोग मिल्नेछ।
कुम्भ – कुंभ राशि हुने व्यक्तिको नव संवत्सर शुभारम्भ नै हुनेछ। शनि नराम्रो स्थितिमा जानु मानसिक समस्याको कारण बन्न सक्छ। यो नव संवत्सर आर्थिक स्थितिको मामलामा राम्रो रहेको छैन। अनावश्यक खर्च हुने योग रहेको छ। पारिवारिक सुखको कमी आउन सक्छ। वैवाहिक जीवनमा तनाव रहला। कार्यक्षेत्रमा स्थिति आफ़नो पक्षमा रहनेछैन। सेप्टेम्बरपछि कार्यक्षेत्रमा उन्नति र पदोन्नति हुने योग रहेको छ।
मीन- मीन राशि हुने व्यक्तिको लागी नव संवत्सरको प्रारम्भ सामान्य रहनेछ। यस राशिमा बुध ग्रह निम्न स्थानमा रहेको कारण अशुभ योग बन्न सक्ला। यस स्थितिको कारण हरेक मोडमा समस्या उत्पन्न हुनेछ। मानसिक तनाव र पारिवारिक समस्या रहनेछ। पैसा प्राप्त हुँदापनि खर्च उति नै हुनेछ। पारिवारिक जीवनमा वृद्दको स्वास्थ्यमा समस्या हुनेछ। पिताको सहयोग मिल्नेछ। शिक्षाको लागि समय अनुकुल रहेको छ। यधपी कडा मिहिनेत गर्नुपर्नेछ।