आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाईएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन्। नेपाली पञ्चाङ्ग हिन्दु क्यालेन्डर अनुसार नेपालको वार्षिक राशिफल पढ्नुहोस्।
ज्योतिषविद्का अनुसार विक्रम संवत २०७८ को आरम्भ वृष लग्नमा भएको छ। लग्नेश शुक्र खर्चको भावमा छ। लग्नमा मङ्गल राहुको युति छ। सप्तममा केतु छ। भाग्य स्थानमा न्यायदेव शनि छ। कर्म स्थानमा देव गुरु बृहस्पति छन्। लाभ भावमा सूर्य चन्द्रमा र बुध छन्। लग्नबाट हेर्ने हो भने सबै ग्रह राहु-मङ्गल र केतुको तर्फ छ।
विश्वमा कूर ग्रहको प्रभाव अत्यधिक रहने छ। लग्नमा पाप ग्रहको प्रभावले मुलुकका जनताको स्वास्थ्य, मनोबल र समृद्धिमा अवरोध पैदा गर्न सक्छ। जनतामा उत्साहको कमी आउनेछ। आर्थिक दृष्टिले यो वर्ष देशको लागि असन्तुलनको सूचक छ। महँगी बढ्नुको साथै आयको सङ्कट पनि बढ्नेछ।
पूर्वी प्रदेशमा राजनीतिक हलचल बढ्नेछ। पश्चिमी तथा उत्तरी क्षेत्रमा अन्नबाली उब्जाउ कम हुनेछ। यसको तुलनाको धनधान्यको प्रचुरता रहनेछ। अन्तर्राष्ट्रिय व्यापारमा लाभ मिल्नेछ। प्राकृतिक विपत्तिका घटनाहरु बढ्नेछन्।
गुरुको शुभताले वाणिज्यका मामिलामा सहजता ल्याउनेछ। बजारमा सुधारको सम्भावना छ। सङ्गठित उद्योगमा सकारात्मक प्रभाव रहनेछ। असङ्गठित क्षेत्रमा परिस्थिति सामान्य भन्दा राम्रो हुनेछ। लाभ स्थानमा सूर्य चन्द्र र बुधको स्थितिले गर्दा युवामा उत्साह र सहयोगको भावनामा वृद्दि हुनेछ। व्यक्तिगत र सामाजिक विषयमा सकारात्मक प्रभाव रहनेछ।