एजेन्सी : रेस ३, हाउसफूल ४, द क्लास अफ ८३ र आश्रम जस्ता फिल्म तथा वेबसिरिजले बबी देओलको अनुहारमा मुस्कान ल्याएको छ। धेरै पुरानो कुरा हैन जतिबेला बबी देओल गुमनामीको अँध्यारोमा हराएका थिए। उनका हातमा कुनै फिल्म थिएनन्। उनी दिनभर घरमै धुमधुम्ती बस्थे। उनलाई आफ्नो छोराको अगाडी मुख देखाउन पनि लाज लाग्ने भएको उनी स्वयमले एक अन्तर्वार्तामा खुलाएका थिए। छोराको नजरमा आफू निकम्मा साबित भईरहेको ठान्थे। नैराश्यताले उनको मनमा डेरा जमाईसकेको थियो। मनको नैराश्यता हटाउन उनले मद्यपानको सहारा लिन लागे। जिम जान छोडे। उनको यस्तो हालत देखेर परिवार पनि चिन्तित भईरहेका थिए।
यसैबीच बबीको घैंटोमा घाम लाग्यो। उनले एकपटक फेरी केही गरी देखाउने प्रण गरे। जिम गएर आफ्नो शरीरलाई सुगठित बनाए। आफ्ना साथी तथा फिल्म निर्माताहरुलाई भेटे। मानिसहरुले पनि सोच्न थाले कि अब बबी आफ्नो करियरको बारेमा गम्भीर छन्। सलमान खान जस्ता साथी उनलाई मद्दत गर्न अगाडी आए र कामहरु दिन् थाले। रेस ३ र हाउसफूल जस्ता फिल्ममा बबीको रोल धेरै थिएन्। तैपनि दर्शकले उनलाई असाध्यै मन पराए। दोस्रो तर्फ उनले आफ्नो काम अनुशासनपूर्वक गरे, जसले गर्दा फिल्म निर्माताहरुबीच उनको छवि राम्रो बन्यो।
ओटीटी प्लाटफर्म अहिले भारतमा तीव्रगतिमा लोकप्रिय हुँदै गईरहेको छ। यसको लागि धमाधम वेबसिरिज र फिल्महरु निर्माण हुँदै छन्। शाहरुख खानको कम्पनी रेड चिलिज इन्टरटेन्मेन्टले बबीलाई लिएर ‘द क्लास अफ ८३’ नामक फिल्म बनाएको थियो। फिल्ममा खासै त्यस्तो नयाँ कुरा थिएन्, तैपनि बबीले यस्तो रोल निभाउने अवसर पाए जुन उनले पहिले कहिल्यै निभाएका थिएनन्।
बबीका अनुसार उनी एक चुनौतीपूर्ण रोलको खोजीमा थिए, जसले उनको छवि बदल्न सकोस्। यस फिल्ममा उनले यो अवसर प्राप्त गरेका छन्। यो रोल निभाउन त्यति सहज थिएन किनकी बबीलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर आउनुपर्थ्यो। बबीले रियल लाइफ नजिकको रोल कहिल्यै निभाएका थिएनन्। तर बबीलाई आफूमा आत्मविश्वास थियो र उनले यस रोल स्वीकार मात्र गरेनन्, उम्दा तरिकाले अभिनय पनि गरे। उनले यो रोल निभाउँदा यति धेरै सावधानी अपनाएका छन् कि त्यो भूमिकामा उनको अलिकति पनि व्यक्तित्व झल्किदैन।
बबीले विजय सिंह नामक यो भूमिका र आफ्नो जिन्दगीमा समानता भएको कुरा बताए। विजय सिंह पनि उनी जसरी नै यस्तो परिस्थितिले घेरिन्छन् जहाँ धेरै कुराहरु गर्ने चाहना हुन्छ तर गर्न सकिदैन्। र त्यसले थप चिन्ता दिन्छ। बबीको पनि हालत यस्तै भएको थियो। उनको शानदारसँग चलिरहेको करियरमा अचानक ब्रेक लाग्यो र उनी बेरोजगार भए।
प्रकाश झाको वेबसिरिज ‘आश्रम’ मा पनि बबीको भागमा एक वजनदार भूमिका पर्यो। उनी सन्तको भूमिकामा देखिए। बबीको अभिनयले वाहवाही बटुल्यो र यो वेबसिरिज करौडौंले हेरे। बबी आफैँ यसको सफलताले चकित परे। आफ्नो उम्दा अभिनयको श्रेय उनी प्रकाश झालाई दिन्छन्।
पछिल्लो समय बबीको माग ह्वात्तै बढेको छ। लकडाउनको बीचमा उनले थुप्रै स्क्रिप्टहरु पढे र काममा फर्कन बैचेन छन्। जीवनको कठिन समयमा परिवार र खासगरी पत्नी तान्याको साथ र सहयोगले समस्याबाट माथि उठ्न धेरै मद्दत पुगेको उनी बताउँछन्।