एजेन्सी : एलिशा अब्दुल, तीव्र गतिको हावासँग कुरा गर्ने सुन्दर महिला जो पहिलो अर्थात् एकमात्र सुपरबाइक रेसर हुन्। यसबाहेक उनी फास्टेस्ट इन्डियन कार रेसर पनि हुन् । संसारभर उनलाई भारतीय स्पीड क्वीनको नामले चिनिने गरिन्छ ।
उनको पिता, आर.ए अब्दुल्ला, एक प्रसिद्ध बाइक रेसर थिए, जसले सात राष्ट्रिय च्याम्पियनशिप जितेर आफ्नो नाम कमाउन सफल भएका थिए। एलिशाले बाल्यकालमै आफ्नो बाबुबाट धेरै कुराहरु सिकेकी थिईन जसले गर्दा उनलाई बाइक सिक्न वा रफ्तार लिने विषयमा कुनै समस्या भएन। उनले बाल्यकाल देखिनै मेशिन, रफ्तार र रोमाञ्चनको बारेमा रुचि राखेकी थिईन्। छोरिको यस्तो चाहनाका कारण उनको बाबुले उनलाई सानै उमेरमा एउटा सानो बाइक उपहार स्वरुप दिएका थिए।
उनले ८ वर्षको सानै उमेर देखि बाइक गुडाउन जानिसकेकी थिईन्। जब उनी ११ वर्षकी भईन, तब उनले गो-कार्टिङ रेसिङमा भाग लिएर प्रथम हुन सफल भईन। उनी १८ वर्षको भएपछि उनलाई बुबाले ६०० सीसीको बाइक गिफ्ट दिएका थिए। उनले अहिलेसम्म रोटेक्स कार्टिङ च्यालेन्ज, नेशनल सुपरबाइक च्याम्पियनशिप र वोक्सवैगन नेशनल पोलो कपमा आफ्नो रेसिङ देखाएर विजय हासिल गरिसकेकी छिन् । एलिशा नेशनल लेवलको रेसिङमा बेस्ट अवार्डसम्म पाउन सफल भएकी थिईन्। त्यसपछि उनी सन् २०१० मा बाइक रेसिङलाई थाती राखेर फोर व्हीलरको रेसिङतिर लागिन्।
सन् २०१४ मा आयोजित जेके टायर नेशनल च्याम्पियनशिपमा उनले पाँचौं स्थान हासिल गर्न सफल भईन। एलिशाले चलचित्रहरूमा पनि काम गरेकी छिन्। यसको साथै उनी अहिले अन्तर्राष्ट्रिय रेसिङ जित्न तयारी अवस्थामा रहेकी छिन् । एकदिन यो संसारका एक नम्बरमा रहेका कार रेसर ‘हेमिल्टन’ सँग कार रेस प्रतियोगिता गर्ने उनको सपना रहेको छ । उनले यो प्रतियोगिता जितेर आफू र आफ्नो देशको प्रसंशा गराएर छोड्ने प्रतिज्ञा गरेकी छिन् ।