काठमाडौँ : माघ महिनाको औँशीलाई मौनी अमावस्या पनि भनिन्छ। किनकी आज दिनभरी मौन रहेर स्नान गरी दान गर्ने प्रचलन छ। आज यदि पूर्ण रुपमा मौन बस्न सकेमा अद्भुत स्वास्थ्य लाभ र ज्ञान प्राप्ति हुनेछ। जसलाई मानसिक समस्या, भय या भ्रमको समस्या छ तिनको लागि आजको स्नान महत्वपूर्ण मानिन्छ। यस दिन प्रक्रिया पालन गर्दा ग्रहको शान्ति र दोष निवारण दुवै हुन्छ। यस पटक मौनी अमावस्यासँगै कुम्भको अत्यन्तै दूर्लभ संयोग पनि बनेको छ।
मौनी अमावस्यामा ग्रहको संयोग
यस दिन चन्द्रमा र सूर्य दुवै मङ्गलको नक्षत्रमा हुनेछ। देव गुरु र दैत्य गुरु बीच सुन्दर सम्बन्ध बनिरहनेछ। मङ्गल आफ्नो राशिमा हुनेछ, जस कारण धार्मिक कार्य लाभकारी हुनेछ। शनि र सूर्यको सम्बन्धको कारण यो पर्व अझ धेरै लाभकारी हुनेछ।
उपासना र स्नान
प्रात: काल या सन्ध्याकाल स्नान अघि सङ्कल्प लिनुहोला। सर्वप्रथम जललाई शिर माथि लगेर प्रणाम गर्नुहोला। त्यसपछि स्नान गर्न आरम्भ गर्नुहोला। स्नान गरेपछि सूर्यलाई कालो तिल मिसाएर अर्घ्य दिनुहोला। सेतो वस्त्र धारण गर्नुहोला र मन्त्र जप गर्नुहोला। मन्त्र जप पश्चात वस्तुहरु दान गर्नुहोला। यदि तपाई चाहनुहुन्छ भने जल र फल ग्रहण गरी उपवास राख्न सक्नुहुन्छ।
राहु-केतुको शान्तिको लागि उपाय :
यस दिन भगवान शिवको मन्दिर जानुहोला। शिवजीलाई एक रुद्राक्षको माला अर्पण गर्नुहोला। धूप बालेर शिव जीको मन्त्रलाई त्यो माला हातमा लिएर १०८ पटक जप गर्नुहोला। मन्त्र – ‘रूपं देहि , यशो देहि , भोगं देहि च शंकर।भुक्ति मुक्ति फलं देहि , गृहीत्वार्घ्यम नमोस्तुते।।’ त्यसपछि त्यस मालालाई चाहे आफूसँग राख्नुहोस् या घाँटीमा धारण गर्नुहोला।
के दान गर्ने ?
मौनी अमावस्यामा मुक्ति मोक्षको लागि – गाई दान। आर्थिक समृद्धिको लागि – भूमि दान। ग्रह नक्षत्र बाधाबाट मुक्तिको लागि – कालो तिलको दान। रोग र ऋणको लागि – वर्ण दान। पारिवारिक जीवनको खुशियालीको लागि – पात्र सहित घ्यु दान। कुनै पनि प्रकारका बाधाबाट मुक्तिको लागि – नुन र वंश वृद्धि र सन्तानको प्रगतिको लागि – चाँदी दान गर्न सक्नुहुन्छ।
मौनी अमावस्यामा ग्रहको के विशेष संयोग छ ?
मौनी अमावस्यामा मकर राशिमा सूर्य, चन्द्रमा, बुधको योगले फलदायी हुनेछ।
आजै शनि आफ्नो मकर राशिमा पनि प्रवेश गर्नेछ।
आज गुरु र केतुको योगले धनु राशिमा हुनेछ।
आज माधवनारायण व्रत पनि
पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका बर्तालुले आज बिहान पशुपतिस्थित आर्यातीर्थमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन् । प्रत्येक वर्ष माघ कृष्ण औँशीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा माधवनारायण बर्तालुले स्नान गर्ने व्रत विधि रहेको छ । माधवनारायण बर्तालु तीर्थयात्राका लागि माघकृष्ण चतुर्दशी अर्थात् बुधबार बेलुकी पशुपति क्षेत्र आएका थिए । माधवनारायण बर्तालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर बर्तालु सुत्छन् ।
स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयवागेश्वरीसम्म जल चढाएका छन् । बर्तालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण बर्तालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ । सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औँशीको राति आज बास बस्ने गरिन्छ ।
माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई वर्तालुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गर्छन् । माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदल यात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ ।
पशुपतिमा माधवनारायण बर्तालु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा श–”व नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहीबार बर्तालुले पशुपति नछाडेसम्म आर्यघाटमा श”’–व नजलाउने व्यवस्था मिलाइएको उनले बताए।
विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।
औँशीको बिहान आज पशुपतिमा पूजा आराधना एवं दर्शनपछि सानो गौचरणमा खाना खाएर वसन्तपुर हुँदै पैदलयात्रा दक्षिणकालीको शेषनारायण मन्दिरतिर बर्तालुलाई लैजान लागिएको पनि उनले जानकारी दिए । कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थीबिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् ।