सैनिक कल्याणकारी कोषबाट ‘पाँच–स’ कार्यक्रम सञ्चालन, बहाल तथा पूर्वकर्मचारीका लागि वरदान

काठमाडौँ, साउन ३२ गते : सैनिक कल्याणकारी कोषले ‘पाँच–स’ अर्थात् शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सेवामा बहाल तथा पूर्वकर्मचारीका लागि वरदान साबित हुने अपेक्षा गरिएको छ । सैनिकका परिवारका लागि स्वास्थ्य उपचार, स्वरोजगार तथा सन्ततिका लागि शिक्षा उपलब्ध गराइएको कल्याणकारी योजना निर्देशनालयका प्रमुख सहायक रथी सागरबहादुर केसीले जानकारी दिनुभयो ।

वि.सं. २०३२ मा स्थापना भएको कोषमा हालसम्म ४४ अर्ब रुपियाँ जम्मा भइसकेको छ । त्यसमा प्रत्येक सैनिकको महŒवपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले बहाल रहँदा वा अवकाशपछि पनि आत्मनिर्भर बनाउन यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरिएको प्रस्ट पार्नुभयो ।
कोषकै आर्थिक सहयोगमा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, पोखरा र नेपालगन्जबाट औषधि उपचार सेवा उपलब्ध हँुदै आएको छ । यो सेवाअन्तर्गत वार्षिक चार लाखले एक लाखदेखि १० लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्दै आएका छन् ।

ती अस्पतालमा उपचार हुन नसकेमा प्रतिव्यक्ति (श्रीमान्–श्रीमतीलाई) जनही पाँच÷पाँच लाख रुपियाँ उपचार सुविधा प्रदान गर्दै आएको छ । छाउनीबाट उपलब्ध हँुदै आएको निःशुल्क औषधि उपचार सेवा अन्य प्रदेशमा विस्तारको तयारी भइरहेको निर्देशनालय प्रमुख केसीले बताउनुभयो ।

त्यस्तै सैनिकका सन्ततिलाई गुणस्तर शिक्षा उपलब्ध गराउन ७७ वटै जिल्लामा विद्यालय स्थापनाको तयारी भइरहेको छ । हाल सातवटै प्रदेशमा सैनिक विद्यालय र महाविद्यायल सञ्चालनमा छन् । यी स्कुलमा न्यूनतम शुल्कमा पठनपाठन हँुदै आएको छ । सेनाको एक सन्तानलाई वार्षिका २० हजार छात्रवृत्तिको व्यवस्था गरिएको छ । वीरगति प्राप्त तथा सेवाका क्रममा ज्यान गुमाएकाहरूको छ वर्षदेखि १४ वर्षसम्मका दुई सन्तानलाई २० हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यो कार्यक्रमबाट वार्षिक २१ हजार ४६८ जना सन्तति लाभान्वित भएका छन् । यो खबर गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

त्यस्तै चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पशु र वन विज्ञान सङ्काय अध्ययन गर्न चाहने बहाल तथा पूर्वसैनिकका सन्ततिलाई ‘सैनिक सन्तति प्राविधिक शिक्षण सहुलयित कर्जा’ अन्तर्गत पाँच प्रतिशत ब्याजादरमा २५ लाख ऋण सहयोग प्रदान हँुदै आएको छ ।
सेनालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन लमजुङको बेँसीसहरमा पशुपालन, दुग्धजन्य वस्तु, फलफूल र तरकारीका लागि कृषि फार्म निर्माण गरिएको छ । दुई सैनिक र दुई सन्तान गरी चार जनालााई कृषि तालिमका लागि जापान र भारत पठाउने गरिएको छ ।
सेनाका ४५ वर्ष उमेर नपुगेका आमा तथा छोरीहरूलाई व्यावसायिक तालिम दिन थालिएको छ । सेवा निवृत्तहरूलाई अर्धवार्षिक पाँच हजार, ७० वर्ष काटेका पूर्वसैनिकलाई वार्षिक १२ हजार, एकल महिलालाई मासिक १२ हजार, ९० वर्ष पूरा गरेकालाई मासिक तीन हजार र ९९ वर्ष पुगेकालाई मासिक १० हजार रुपियाँ उपलब्ध गराउने गरिएको छ ।

यसैगरी अवकाशपछिको जीवन सरल र सहज बनाउन घरआवास कर्जा कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रमबाट २६ हजार ६४१ जना लाभान्वित भएका छन् । श्रीमान्–श्रीमती तथा बुवा–आमाको निधन भएमा निःशुल्क शववहान तथा किरियाकर्म खर्च उपलबध गराउने गरिएको छ । त्यस्तै प्रसूति खर्च, अपाङ्ग तथा अशक्तलाई ह्विलचियर तथा स्कुटर वितरण गरिएको छ । प्रदेश २ र ५ का उत्कृष्ट निजी तथा आवासीय विद्यालयमा सेनाका छोराछोरीको पठनपाठन गराउन १९ वटा स्कुलसँंग ‘इम्पानेल’ (सहकार्य) विस्तार गरिएको निर्देशनालयले जनाएको छ ।
दाङको सालझण्डी, चितवनको शक्तिखोर, महोत्तरीको कर्दिकास, बाँकेको नेपालगन्ज, काठमाडौँको शिवपुरी र सिन्धुलीको ठूलीटारमा सैनिक परिवार आवास निर्माण सुरु गरिएको छ ।

स्वरोजगार तथा आयमूलक कार्यक्रमबाट सात हजार ८९९ जना बहाल र पूर्वसैनिक तथा एकल महिला १७ हजार ६९६ गरी २५ हजार ५९५ लाभान्वित भएका छन् । यसका लागि नेपाल इन्भेस्टमेन्ट बङ्ैकबाट चार अर्ब २४ करोड ३५ लाख ८० हजार कर्जा प्रवाह गरिएको छ ।
सैनिक कर्मचारीलाई कृषि, पशुपालन तथा लघु उद्यम व्यवसायी बनाउन नौ हजार २० जनालाई २१० किसिमको तालिम प्रदान गरी गरिएको छ । अवकाशपछिको जीवनलाई सार्थक र उपलब्धिमूलक बनाउन यस किसिमको रचनात्मक कार्यक्रम प्रभावकारी हुने अपेक्षा सेनाको छ ।
अरबको खाडीभन्दा स्वदेशमै आयमूलक काममा सक्रिय तुल्याउन कल्याणकारी कोषले सैनिक कर्मचारी, परिवार र सन्तानका लागि यस किसिमको रचनात्मक कार्यक्रम सञ्चालन गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पार्नुभयो ।

प्रकाशित : शनिबार, साउन ३२, २०७६०८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘मर्दा र पर्दा’ मा काम लाग्ने छिमेकीले नै ठगेपछि….