बिक्न छाड्यो भारतीय तरकारी, महँगो भए पनि किन्छन् स्वदेशी तरकारी नै

लम्की, ३० असार – कैलालीको टीकापुरकम लाग्ने हाटबजारमा स्थानीय तरकारी प्रशस्त पाइने गरेको छ । स्थानीयस्तरमै तरकारीले बजार ओगटेपछि यस क्षेत्रका उपभोक्ताले भारतीय तरकारी किन्नु परेको छैन ।स्थानीय कृषकले आफूले उत्पादन गरेको तरकारी टीकापुरमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरेका छन् ।

केही वर्षदेखि यस क्षेत्रका कृषकले तरकारीबाट राम्रो आम्दानी लिन थालेका छन् । “मौसमअनुसारको मात्र होइन बेमौसमी तरकारीसमेत उत्पादन हुन थालेपछि भारतीय तरकारीको भर पर्नुपर्ने बाध्यता टरेको छ”, स्थानीय कृषक चिन्कु थारूले भन्नुभयो, “पहिले पहिले त बुझेका थिएन अहिले धेरैले बुझेका छौँ । तरकारीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”रासायनिक मल र विषादी आफूहरुले पनि प्रयोग गर्ने गरेको बताउने उहाँले विषादीका बारेमा प्राविधिकले जानकारी गराउन जरुरी रहेको बताउनुभयो ।

तरकारी खेती गर्न चार–पाँच कठ्ठा जग्गा भए पुग्ने कृषक थारूको भनाइ छ । यसरी स्थानीय उत्पादनका साथै सुदूरपश्चिमका पहाडी जिल्ला र प्रदेश नं ५ को सल्यानबाट पनि तरकारी टीकापुर आउने गरेको छ । टीकापुरमा दुई ठाउँ गरी हप्ताको चार दिन तरकारी हाट बजार लाग्छ । स्थानीयवासीले आवश्यक पर्ने तरकारी हाटबजारबाट लिने गरेका छन् । “हाट बजारमा तरकारी ताजा र सस्तो पाइन्छ भन्ने हो तर मूल्य चर्काे छ”, स्थानीय व्यापारी खगेन्द्र बिनाडीले भन्नुभयो, “स्थानीय उत्पादन हुने भएकाले ताजा पाइन्छ ।

भारतीय विषादी भएको तरकारी खानुपर्ने बाध्यता छैन ।”पछिल्लो समय अधिकांश कृषकले आफ्नो बारीमा उत्पादन भएको तरकारी बजारमा ल्याउन थालेका छन् । टीकापुरको हाटबजारमा दुई सयभन्दा बढी कृषकले आफ्नो कृषि उत्पादन ल्याउने गरेका छन् । भान्सामा आवश्यक पर्ने दाल–तरकारी पर्याप्त मात्रमा ल्याउने गरेका छन् । यस क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालन भएपछि कृषकले बीउ सहुलियत दरमा पाउन थालेका छन् भने कृषि प्राविधिकको सुझाव लिने बानी बसालेका छन् ।

हाट बजारमा तरकारी बिक्री गर्नेहरुमा ८० प्रतिशत महिला हुन्छन् । “तरकारी बेचेर दिनमा चार हजारसम्म आम्दानी हुन्छ”, बनगाउँकी फुलमती कठरियाले भन्नुभयो, “व्यावसायिक रुपमा तरकारी खेती गरेकी छु । हप्तामा चार दिन हाटबजारमा ल्याएर तरकारी बेच्छु ।” उहाँले आफूजस्तै अन्य महिलाले पनि तरकारी बिक्रीबाट राम्रो आम्दानी लिइरहेको बताउनुभयो । – रासस

प्रकाशित : सोमबार, असार ३०, २०७६०८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर एकको मृत्यु