आदर्श प्रधान, मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी, काठमाडौं
पुरुषमा ४५ वर्ष र महिलामा ५५ वर्षको उमेरपछि आत्महत्याको सम्भावना बढ्ने गरेको तथ्यांक पाइन्छ । आत्महत्याको प्रयास गर्ने मानिस प्रायजसो उदासी र निराश भावनाले भरिएको हुन्छ । उनीहरूले सोच्छन् कि उनीहरूको अब कुनै विकल्प छैन । मानिसले गर्ने विभिन्न व्यवहारमा आत्महत्या गर्न सक्ने संकेत देखिन सक्छ । यी चेतावनी संकेत चिह्नहरू महत्वपूर्ण छ । जुन संकेत चिह्न परिवारको सदस्य वा साथीहरूले अनुभव गर्न सक्दछन् । जुन क्रियाकलापलाई अध्ययन गरेर दुखद आत्महत्या प्रयास वा मृत्युबाट रोक्न सकिन्छ ।
आत्महत्या गर्ने शैली
पुरुषले घरको सिलिङमा झुन्डिने र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ ।
महिलाले भने धेरैजसोले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गरी आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । कतिपयले झुन्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ ।
मानसिक रोगका साथसाथै मानिसको आफ्नै प्रयासबाट आत्महत्याको अवस्थासम्म पुग्ने गर्दछन् ।
कारण तथा लक्षण
अत्यधिक मात्रामा निराशा महसुस गर्नु ।
एक्लोपन महसुस गर्नु ।
चिन्तित तथा उत्तेजित महसुस गर्नु ।
जीवनमा बाँच्नका लागि कुनै कारण नभएको महसुस गर्नु ।
आत्महत्या गर्नु मात्र समाधान देख्नु ।
व्यक्तिगत हानि गर्ने तरिका खोज्नु जस्तै– बन्दुक खरिद गर्नु ।
अत्यन्त धेरै सुत्नु वा अत्यन्त कम सुत्नु ।
धेरै खाना खाने वा अत्यन्त कम खाना खाने, परिणामस्वरूप अत्यन्त धेरै वजन बढ्नु वा अत्यन्त धेरै वजन घट्नु ।
अत्यधिक लागुपदार्थको प्रयोग ।
सामाजिक कार्यमा सहभागी नहुने वा अरूसँग बोल्न नचाहने ।
बदलाको खोजी गर्ने, धेरै रिसाउने ।
रोकथाम कसरी गर्ने ?
माथि उल्लेखित संकेतचिह्न सुरुमै देखिनासाथ उचित परामर्श, मनोशारीरिक परामर्श र आवश्यक भएमा मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्न सकेमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ । विशेष गरेर परिवारका सदस्यहरूले आत्महत्याको संकेतचिह्नलाई पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ । यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरिदिनुपर्दछ ।