आत्महत्या गराउने गेम, ब्ल्यू ह्वेल च्यालेन्ज: यसरी मर्न उस्काउछ यसले, अरुपनि छन् यस्तै दरेलाग्दा गेम

काठमाडौँ – गत भदौं १५ गते भारतमा ब्ल्यू ह्वेल गेमका कारण अर्को दुर्घटना भयो । गुजरातको बनासकाँठाका ३० वर्षीय अशोक मलुनाले ब्ल्यू ह्वेल च्यालेन्ज पूरा गर्न सावरमति नदीमा हाम फाले । उनको शव अर्को दिन मात्र फेला परेको थियो ।

आत्महत्या गर्नुभन्दा पहिले अशोक फेसबुकमा लाइभ थिए । उक्त छोटो भिडियोमा उनले आफू ब्ल्यू ह्वेल च्यालेन्जको अन्तिम स्टेजमा पुगेको र यसै कारण आफ्नो जीवन समाप्त गर्न लागेको बताएका छन् । अशोकले भिडियोमा आफू जीवनदेखि निराश भएको कुरा पनि उल्लेख गरेका थिए । यो समाचार साप्ताहिकका लागि एकराज सुबेदीले तयार परेका हुन्।

हिजोआज बजारमा एउटा कम्प्युटर गेम आएको छ । त्यसको नाम ब्ल्यू ह्वेल च्यालेन्ज हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ । अशोक यही गेमका कारण आत्महत्या गर्न प्रेरित भएको अनुमान गरिएको छ । यद्यपि उनी क्यान्सरका रोगी थिए पनि भनिन्छ । भारतमा त्यसभन्दा पहिले मुम्बईस्थित अँधेरी इस्टमा बसोबास गर्ने १४ वर्षीय मनप्रितले यही गेमका कारण आत्महत्या गरेको समाचार आएको थियो ।

प्रहरीका अनुसार नौ कक्षाका विद्यार्थी मनप्रितमा ब्ल्यू ह्वेल च्यालेन्जको लत थियो । उनले छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । अनुसन्धानका क्रममा मनप्रितले आत्महत्या गर्नु अघि एउटा तस्बिर खिचेको पाइयो, जसमा उनको खुट्टा मात्र देखिन्छ । त्यसको क्याप्सनमा उनले लेखेका थिए, छिट्टै तपाईंहरूसँग यो मेरो तस्बिर मात्र बाँकी रहनेछ ।’ भारतमा गेमका यो सदस्य कति छन् आधिकारिक तथ्यांक कसैसँग छैन । नेपालको सन्दर्भमा इन्टरनेटमार्फत गेम खेल्ने किशोरकिशोरीहरूसम्बन्धी तथ्यांक प्राप्त गर्न अझै मुस्किल छ ।

यो अनलाइन गेम रूसबाट सुरु भएको हो । अहिलेसम्म यो गेम खेल्ने २ सय ५० भन्दा बढी किशोरले आत्महत्या गरिसकेका छन् । यसलाई जो–कोहीले खेल्न सक्दैनन्, किनभने यसलाई डाउनलोड गर्न सकिँदैन । ह्वाट्सएप र फेसबुक प्रोफाइलमार्फत यो गेमको इन्भिटेसन लिंक पठाउन सकिन्छ । गेमका एडमिनहरूले नै यो गेम कसले खेल्न पाउँछ–कसले पाउँदैन निर्धारण गर्छन् ।

यो गेममा १० देखि १८ वर्षसम्मका बालबालिकालाई निशाना बनाइन्छ । यो गेमको नियम बालबालिकाहरूले पालन गर्छन् भन्ने लागेपछि फेसबुक प्रोफाइलमार्फत गेम खेलाइन्छ । यो गेम ५० दिनसम्म खेलिन्छ । सबै दिन गेम खेल्ने बालबालिकालाई आफ्नो हात ब्लेडले काटेर त्यसको फोटो पठाउन लगाइन्छ ।

त्यसपछि बालबालिकालाई बिहान छिट्टै उठेर हरर मुभी हेर्न भनिन्छ अनि उनीहरूलाई नजिकको कुनै अग्लो भवनको सबैभन्दा माथि गएर कुनामा उभिन लगाइन्छ । प्रत्येक दिनको टास्क पूरा भएपछि हात काटेर ह्वेलको चित्र बनाउन भनिन्छ । यसबीच बालबालिकालाई कसैसँग कुरा नगर्न आदेश दिइन्छ । पचासौं दिन बालबालिकालाई तिमी अब ह्वेल बन्यौं भनिन्छ र कुनै अग्लो भवनबाट हामफालेर आत्महत्या गर्न लगाइन्छ ।

ब्ल्यू ह्वेल च्यालेन्ज गेमले किशोरकिशोरीहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरिरहेको छ । यो खेलमा जित हासिल गर्न किशोरकिशोरीहरूले मृत्युलाई अँगालिरहेका छन् । अमेरिका, युरोप तथा रूसमा प्रहरीले यो सुसाइडर गेमका सम्बन्धमा चेतावनी नै जारी गरेका छन् भने भारतमा पनि यस्तै चेतावनी दिइएको छ । त्यहाँका प्रहरीले अभिभावकहरूलाई आ–आफ्ना बालबालिकामाथि निगरानी राख्न अनुरोधसमेत गर्न थालेका छन् । सामाजिक सञ्जालहरूमार्फत सचेतनाका कार्यक्रमहरू पनि प्रारम्भ गरिँदैछ । बेलायतमा केही संस्थाले हेल्पलाइन सेवा नै सुरु गरिसकेका छन् ।

रूसबाट प्रकाशित हुने अनुसन्धानमूलक अखबार नोभाया गजेटाका अनुसार ब्ल्यू ह्वेल च्यालेन्ज खेलले रूसमा मात्र सन् २०१५ नोभेम्बरदेखि २०१६ को अप्रिलसम्ममा १ सय ३० जना किशोरकिशोरीको ज्यान लिइसकेको छ । यसैगरी पानामा टुडे अनलाइनका अनुसार ल्याटिन अमेरिकी मुलुकमा ३१ वटा यस्तै प्रकृतिका घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको छ । अनुसन्धानका क्रममा छतबाट हाम फालेको र त्यसअघि खिचिएका तस्बिरहरू फेला परेका छन् ।

रूसबाट सुरुवात
यो गेम अ साइलेन्ट हाउस, अ सी अफ ह्वेल्स तथा वेक अप मी एट ४.२० को नाममा समेत उपलब्ध छ । यो गेमको शुरुवात रुसमा भएको हो । यो गेम भीकोन्ट्याक्टे वेबसाइटमा खेलिन्छ । यो वेबसाइट रूसमा लोकप्रिय छ । यो गेम रूसपछि युरोप, अमेरिकासहित अन्य मुलुकमा समेत फैलँदै गएको छ । यो गेममा क्युरेटर अर्थात् एडमिन, प्लेयरलाई डेथ वा सुसाइड ग्रुपमार्फत खोज्छन् । समूहचाहिँ भीके डट कम मार्फत बनाइन्छ ।

हालै रूसी प्रहरीले उक्त ग्रुपमाथि प्रतिबन्ध लगाएको छ, तैपनि यसलाई पूर्णत: रोक्न सकिएको छैन । प्रहरीले एउटा समूहलाई बन्द गरेलगत्तै एडमिनले अर्को समूह बनाइहाल्छ । समूहको सदस्य बनेपछि फुत्कनै नसकिने अवस्था हुन्छ । मोबाइल, आइफोन, कम्प्युटर आदि डिभाइसमा एक पटक यो गेम डाउनलोड गरेपछि हटाउनै सकिँदैन ।

यो गेम डाउनलोड गरेलगत्तै समूहमा आबद्ध सदस्यबाट लोभ्याउने गरी सन्देश आउँछ । त्यहाँ सदस्यहरूलाई गीत सुन्ने, हरर मुभी हेर्ने तथा आधी रातमा उठ्ने, ब्लेडले छालामा ह्वेलको आकृति बनाउने वा केही लेख्नैपर्ने खतरनाक टास्कहरू दिइन्छ । ती खतरनाक टास्क पूरा गर्न बाध्य तुल्याउन किशोरकिशोरीलाई उनीहरूको गोप्य सूचना सार्वजनिक गर्ने धम्कीसमेत दिइन्छ । यो गेममा सहभागी सदस्यले एडमिन समक्ष हरेक स्टेज पूरा गरेपछि प्रमाणका रुपमा तस्बिर तथा भिडियोहरू पठाउनुपर्छ ।

आतंकको सुरुवात
रूसमा दुई किशोरीले १४ तल्लाको छतबाट हाम फालेर आत्महत्या गरे । दुवैको उमेर १५– १६ वर्ष थियो । हाम फाल्नुअघि उनीहरूले इन्स्टाग्राममा ‘ब्ल्यू ह्वेल च्यालेन्जको तस्बिर पोस्ट गरेका थिए । त्यसपछि हजारौं ह्यासट्याग ब्लुह्वेलच्यालेन्जका साथ उक्त तस्बिरलाई सेयर गरिएको थियो । ती किशोरीको नाम युलिना कोन्स्टेन्टिनोभा तथा भेरोनिका भोल्कोभा थियो । त्यसपछि रुसमा आत्महत्याको शृंखला नै शुरु भयो ।

रुसका युवकले बनाएका थिए गेम
रूसका २२ वर्षीय नागरिक फिलिप बुदेकिनले यो गेम बनाएको प्रहरी समक्ष बताएका छन् । यो गेमको सहयोगले समाजमा बाँच्नका लागि योग्य नभएकाहरूलाई समाप्त गर्ने उद्देश्य भएको उनले बताएका छन् । उनले आफ्नो शिकार खुसीले मर्ने र त्यसमा कुनै दबाब नहुने दाबी समेत गरेका छन् । फिलिपलाई १६ जना टिनएजर्सलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा गिरफ्तार गरिएको थियो । गत मे ११ मा उनलाई यही आरोपमा ३ बर्षको जेल सजाय सुनाइएको छ ।

उस्तै–उस्तै गेम
ब्ल्यू ह्वेल च्यालेन्ज जस्तै अन्य गेम पनि छन् । त्यसैले ती गेममा पनि विशेष निगरानी राख्नु आवश्यक छ ।

घोस्ट पेपर च्यालेन्ज
यो गेममा संसारकै सर्वाधिक पिरो खुर्सानी खान लगाइन्छ । यसलाई मुखमा राख्नुपर्छ । यसका कारण कतिपय व्यक्ति अस्पतालसमेत पुगेका छन् ।

सिनमन च्यालेन्ज
यसमा चम्चामा राखिएको इलाइची पानीबिना नै निल्नुपर्छ । यसका कारण सास लिन गार्‍हो हुन्छ । फलस्वरूप मानिसको मृत्यु समेत हुन सक्छ ।

चोकिङ च्यालेन्ज
मानिसहरू कुनै अम्मल प्रयोग गर्नुको साटो घाँटी दबाएर अम्मलकै असर परेजस्तो अनुभव गर्छन् । यसका कारण अक्सिजनको कमी हुन्छ । अमेरिकामा यसका कारण प्रत्येक वर्ष करिब एक हजार व्यक्तिको ज्यान जाने अनुमान छ ।

आइस एन्ड साल्ट च्यालेन्ज
यो गेममा आफ्नो शरीरमा नुन राख्नुपर्छ । त्यसपछि त्यही स्थानमा बरफ राख्नुपर्छ । यसबाट शरीरमा जलन हुन्छ जसले लामो समय सम्म सहन सक्छ, गेममा उसैको जित हुन्छ ।

कार सर्फिङ च्यालेन्ज
यो गेमका कारण पनि कतिपय ब्यक्तिको मृत्यु भएको छ ।

अभिभावकको सावधानी
दिल्लीमा ब्ल्यू ह्वेल गेमका कारण एक बालकको मृत्यु भए पछि यसको खतराबाट जोगिन प्रहरीले यस्तो सुझाव दिएको छ :

– १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक घण्टा भन्दा बढी समय मोबाइल नदिऊँ । उक्त एक घण्टाको समयमा पनि बालबालिकालाई एक्लै छोड्नु हँुदैन ।

– मोबाइलका लागि धेरै जिद्दी गर्ने बालबालिकालाई आउटडोर क्रियाकलापमा संलग्न गरौं ।
– १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल दिनु उपयुक्त होइन । दिनैपरे निश्चित समय किटान गरेर मात्र दिऊँ ।

– मोबाइलमा उनीहरूले गरेको सर्फिङ हिस्ट्री चेक गरौं ।
– उनीहरूको बानीबेहोरामा परिवर्तन आएको छ भने सतर्क बनौं ।

– बालबालिकाहरू आफ्ना साथीहरूसँग कुनै च्यालेन्ज लिने खालको खेल त खेलिरहेका छैनन् ? ध्यान दिउँ।

– जति सकिन्छ, बालबालिकालाई मोबाइलको प्रयोग थोरै मात्र गर्न दिउँ।

प्रकाशित : बुधबार, भदौ २८, २०७४१५:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वका यी १० डरलाग्दा देशहरु जहाँ जान मानिस असाध्यै डराउछन् [तस्विर सहित]