शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

काठमाडौँ, ९ भदौ – साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ ।
लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो ।  सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेको‘आजका लघुकथा’मा तेह्र लघुकथाकारका पैँसट्ठी लघुकथा समाविष्ट छन् ।

लघुकथा समाजले प्रकाशन गरेको उक्त लघकथासंग्रहमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई विषय बनाइएको संयोजक बजगाईँले जानकारी दिनुभयो ।

तीजमा ‘मध्यधार’को चर्चा
बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथासंग्रह ‘मध्यधार’को परिचर्चा गरिएको छ । तीजका अवसरमा बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो । कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशन गरिएको हो ।
सो अवसरमा समीक्षक सिलवालले बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताउनुभयो । कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताउनुभयो । कथाकार बजगाईँले नारीका समस्या र परिवर्तित विशेषतालाई आफूले कथामा प्रस्तुत गरेको बताउनुभयो । कथाकारले आफूले देखेभोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्पष्ट गर्नुभयो ।

बुक क्लबका संयोजक राजेश्वरी घिमिरेले बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाका लागि प्रेरणादायी बन्ने बताउनुभयो । कार्यक्रममा रञ्जु थापालगायतले कथा संग्रहमाथि आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाश गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो ।

संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्र कथा समेटिएका छन् । – रासस

प्रकाशित : शुक्रबार, भदौ ०९, २०७४१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रकट पंगेनी ‘शिव’को दुई रोमान्टिक गजल