काठमाडौँ – उबेला हालको छाउनी पूरै खुल्ला र सार्वजनिक चौर थियो। त्यहाँ एक छेउमा सेनाको सानो ब्यारेक थियो। त्यहीँ उत्तर पश्चिम कुनामा सैनिकहरुले बन्दुकको निशाना लगाउन तारो हान्ने प्रशिक्षण दिने गरिन्थ्यो। यो कामलाई हामी चाहिँ बोलीचालीको भाषामा ‘तारो कयेकेगु’ भन्ने गर्थ्यौँ।
त्यहाँ तारो हान्ने बेला काठमाडौँबाट भुइखेलसम्म मात्र आउन दिइन्थ्यो।, स्वयम्भू अगाडिको सिँढीबाट माथि उक्लिन दिइन्नथ्यो। भुइखेलबाट किमडोलतिर पनि जान पाइँदैनथ्यो। तारो हानुञ्जेल यो बाटो पूरै बन्द हुन्थ्यो। त्यता जाने हो भने छाउनी पछाडि घुमेर मात्रै जानु पर्थ्यो। त्यतिखेर भुइखेल र किम्डोलको बीचमा एउटा रेञ्ज पोस्ट बनाएर स्वयम्भूको डाँडालाई नै निशाना बनाएर गोली हान्ने गरिन्थ्यो। गोली लाग्दा माटोको ढिक्कै उछिट्टिएर सडकमा पुग्थ्यो। नजान्नेले गोली हान्दा कहिलेकाहीँ त स्वयम्भूको माथि पनि पुगिरहन्थ्यो। ज्ञानमाला भजनघर बनाइसक्दा त्यहाँ समेत कहिलेकाहीँ गोली आइपुग्थ्यो। भजनघरको विभिन्न ठाउँमा त्यसको चिन्हहरु अझै देख्न सकिन्छ। त्यही कारण सैनिकहरुले आफ्नो प्रशिक्षण सुरु गर्दा सार्वजनिक बाटो बन्द गर्ने रहेछ जसले गर्दा स्वयम्भू चढ्न रोकिन पुग्थ्यो। त्यसबेला सिँढीको अलावा सीधै पाखाबाट पनि स्वयम्भू चढ्न मिल्थ्यो तर तल बाटो काट्न पनि मनाही हुन्थ्यो। पछाडि शान्तिपुर भएर माथि निस्किने बाटो मात्रै खुला थियो।
यसले गर्दा सर्वसाधारणलाई निकै समस्या पर्न गयो। भिक्षु अमृतानन्दले दरबार जानु भइ राजा त्रिभुवनसँग यसबारे बिन्ती गर्नुभयो। त्यतिबेलासम्म राजा त्रिभुवनसग उहाँको सम्बन्ध राम्रो भइसकेको थियो। उहाँले राजालाई भन्नुभयो, ‘यो तारो हान्ने काम निकै आपत्तिजनक भयो। भगवान बुद्ध जो अहिंसाका प्रचारक हुनुहुन्थ्यो, उहाँकै तीर्थस्थलमा गोली हान्ने काम गर्नु ठीक भएन यसलाई रोक्नु पर्थ्यो। यस्तो काम मानिसहरु आवतजावत नहुने कुनै अर्कै ठाउँमा गर्नुपर्ला।’
राजाले ‘मैले सीधा भन्न मिल्दैन, सरकारलाई अनुरोध गर्नुस्’ भनेर फिर्ता पठाएछन्। त्यसपछि भिक्षु अमृतानन्दले तारो हान्ने कार्यविरुद्ध स्थानीय जनता र उक्त बाटो प्रयोग गर्ने सबै बटुवाहरुसँग हस्ताक्षर संकलन गर्न थाल्नुभयो। हजारौँ हस्ताक्षर सजिलै संकलन भयो। हामीले तत्कालीन रक्षामन्त्रीको समेत कार्यभार लिनुभएका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई उक्त हस्ताक्ष्र बुझायौँ। स्वयम्भू आउँदा उहाँले ‘अहिल्यै त म केही गर्न सक्दिनँ। वैकल्पिक ठाउँ खोज्छु, भेटियो भने विचार गरौँला,’ भन्नुभयो।
त्यसको केही समयपछि नै अर्को ठाउँ भेट्टाएर तारो हान्ने काम बन्द भयो। त्यसपश्चात स्वयम्भू क्षेत्र उक्त डरलाग्दो खेलबाट सदाको लागि मुक्त भयो। अहिलेका मानिसलाई त त्यहाँ कुनै बेला तारो हान्ने गरिन्थ्यो भन्ने कुरा पनि थाहा छैन होला।
तारो हान्ने ठाउँ सारिए पनि स्वयम्भूको उत्तरतिर तल रहेको बारुदखाना (गोलीगठ्ठा बनाउने ठाउँ) भने अहिलेसम्म हटाउन सकिएको छैन। त्यो पनि बस्तीबाट टाढा सार्नु पर्थ्यो। अहिले त स्वयम्भू डाँडा सिंगै विश्व सम्पदा सूचीमा परिसकेको छ। बारुद बनाउँदा कुनै दुर्घटना भयो भने पूरै सम्पदा खतरामा पर्न सक्छ। फेरि अहिले त त्यहाँ पहिलेजस्तो सानो बस्ती पनि रहेन। त्यसैले बारुदखाना उक्त मानव बस्तीबाट तुरुन्त सार्नुपरेको छ। यो विषयमा पनि स्थानीयबासी, बौद्ध समुदाय र नेवार सांसदहरुले पटकपटक संसदमा कुरा उठाइ सरकारको ध्यानाकर्षण गरिसकेको छ।
मानन्धरको पुस्तक काठमाडौँ: उहिले र अहिलेबाट निकालिएको एक अंश