कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

वासुदेव पौडेल, रासस 
पोखरा, ३० असार – पोखराको बजारमा क्षण–क्षणमा झरी, बादल र वर्षा भइरहेका अवस्थामा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीभित्र यस्तै यस्तै झझल्को दिने जीवन्त कलाले सजाइएका कलाकारका सिर्जना यतिखेर कलाप्रेमीको आकर्षण बनेका छन् ।

नेपाली मनसुनको जीवन्त चित्रण गर्ने कलाकारका सिर्जनालाई ‘मनसुन–२, २०७४’ शीर्षकको प्रदर्शनीमा स्थान दिइएको छ । असार २३ मा प्रदर्शनी शुरु भएयता कलाका पारखी ग्यालरीमा छिरेर मनसुनका विभिन्न यथार्थपरक दृश्यलाई कलामा उतारिएका तस्बिर हेर्न लालायित भएका अवस्थामा यहाँका तस्बिरले ललितपुरको हरिसिद्धि घर भई हाल पोखरामा चस्माका व्यापार गर्दै आएका ३२ बर्षीय धनराज महर्जनको पनि मन छोयो । प्रदर्शनीमा कलाकार गोपाल श्रेष्ठले तयार गर्नुभएको मनसुनमा रोपाइँ गरिरहेको तस्बिरले महर्जनलाई निकै आकर्षित ग¥यो । “रोपाराहरू खेतमा रोपाइँमा व्यस्त बनिरहेको त्यो कलाले सिङ्गारिएको तस्बिर देख्ने बित्तिकै मलाई एकाएक आमाको झझल्को आयो,” उहाँले भन्नुभयो, “शुरुमा त मैले मूल्यका कारण किन्ने कि नकिन्ने भन्ने दोधारमा परेँ, अन्ततः मन नै थामिएन किनेरै छोडेँ ।”

कला आफैँमा अमूल्य छन् भन्ने आफूले अनुभूति गरेको बताउँदै उहाँले भन्नुभयो, “मूल्य कति प¥यो त्यो त भन्न चाहन्न, जे होस् आग्रह गरेर मूल्य पनि मिलाएरै किनी छाडेँ ।” आमाको झल्को लागेर किनेको उक्त तस्बिरलाई कहिले घरमा पुगेर आमा र घरपरिवारलाई देखाउँ भन्ने महर्जनको धोको छ । महर्जनले उक्त तस्बिर एकपटक देखेपछि पुनः पटक–पटक प्रदर्शन कक्षमा आएर त्यसैलाई हेर्दै जाने गरेको बताउने पोखरा आर्ट ग्यालरीकी कर्मचारी एवम् कलाकार एलिता गुरुङले अन्तिममा मन नै थामिएन भनेर उहाँले सो तस्बिर किनेर लगेको जानकारी दिनुभयो । कलाको कुनै मूल्य नभएको बताउने वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन कलाको बिक्रीलाई कलाकार र क्रेताको आपसी समझदारीको लेनदेनका रुपमा लिनुहुन्छ । “कलाकारले सिर्जना गरेका तस्बिरहरू अमूल्य हुन्छन्,” उहाँले भन्नुभयो, “सिर्जनाले मन छोएपछि अधिकांशले अन्ततः मूल्यसँग सम्झौता नगरी तस्बिर किनेर लैजाने गरेका छन् ।”

पहिले पहिले विदेशी पर्यटकले नेपाली कलाकारले तयार गरेका तस्बिर बढी मात्रामा लैजाने गरेकामा पछिल्ला वर्षमा विदेशीले भन्दा नेपालीले नै कलाकारका सिर्जना किनेर घरका भित्तामा सजाउने गरेको उहाँको भनाइ छ । कलाप्रतिको बढ्दो युवा आकर्षणलाई बचाउनका लागि राज्यको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले प्रत्येक सरकारी कार्यालयमा कलाकारले तयार गरेका पेन्टिङ किनेर राखिदिने अवस्थाको सिर्जना हुनुपर्ने बताउनुभयो । सिर्जनशील कलाकार समूह पोखराका संरक्षक क्षेत्रलाल कायस्थका अनुसार कलाले मानिसलाई जिन्दगीभर आनन्द प्रदान गर्ने गर्दछ । “अन्य नाचगान, मनोरञ्जन क्षणिक रुपमा आनन्द प्रदान गर्ने हुन्छन्,” उहाँले भन्नुभयो, “आफूलाई मन परेको कलात्मक तस्बिर घर–कोठामा सजाउँदा त्यसले जिन्दगीभर नै आनन्द प्रदान गर्ने हुन्छ ।”

कलाकारितालाई बचाउने हो भने कम से कम प्रत्येक सरकारी कार्यालयमा स्वदेशी कलाकारले तयार गरेका सिर्जनालाई भित्तामा सजाउने नीति राज्यले निर्माण गर्न आवश्यक भएको बताउँदै उहाँले त्यसले यस क्षेत्रमा लाग्ने जो कोहीलाई सधैँ उत्प्रेरित गरिरहने उल्लेख गर्नुभयो । पछिल्ला समयमा कलाप्रति आकर्षण बढिरहेको जानकारी दिँदैै कायस्थले पोखराको लेकसाइडमा मात्र हाल व्यावसायिक रुपमा ११ वटा आर्ट ग्यालरी सञ्चालन भइरहेको बताउनुभयो ।

प्रकाशित : शुक्रबार, असार ३०, २०७४१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘म साँच्चिकै हराइछु’ सार्वजनिक