नेताको भाषा र भावनामा कहिले मिल्ला तालमेल ?

निर्मल भट्टराई

निर्मल भट्टराई
एउटा घरानियाले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्री लगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समयको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु गर्नु पर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आई पुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउदै भन्यो—“आउनु पर्ने मुख्य अतिथिहरु आईपुगेका छैनन् । तर भोज शुरु गरौं ।” त्यहाँ उपस्थित करिब दुई दर्जन अतिथिले “ हामी त आउनुपर्ने अतिथि नै होइन रहेछौं । आउनु पर्ने त बाँकी पो रहेछन् ” भनेर भोजमा सरिक नै नभई हिँडेछन् । आएका पाहुना भोजमा सरिक नै नभई हिंडेको देखेपछि त्यो घरानियाले झन खिन्न हुँदै भनेछ —“नजानु पर्ने पाहुना भोज नखाई गए ।” अरु करिब दुई दर्जन पाहुनालाई लाग्यो—“ए, उनीहरु चाँहि नजानु पर्ने पाहुना, हामी चाँहि जानुपर्ने पाहुना ?” उनीहरु पनि भोजमा सरिक नभई हिंडे । भोज आयोजकको खिन्नताको पारो झन बढ्यो । उसले फेरि भन्यो—“ हरे, मैले यो कुरा कहाँ उहाँहरुलाई भनेको हो र ! ” बाँकी पाहुना पनि भोज नखाई हिडे किनभने उनीहरुले ठाने—“त्यो कुरा उनीहरुलाई नभनेको भए पक्का हामीहरुलाई भनेको हो ।”

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चुनावी अभियानमा उनकी पत्नी न्यान्सी रेगनले एउटा टेलिफोन वार्तालापमा त्यहाँको आमसभामा उपस्थित सबैले सुन्ने गरी भनेकी थिइन —्“म यहाँ सुन्दर गोरा मानिसहरुसंग रमाईरहेकी छु ।” त्यहाँ उपस्तित सबै काला जातिका मानिस रिसाए किनभने उनीहरुले न्यान्सीको भनाईको यस्तो अर्थ लगाए—“ न्यान्सीको बुझाईमा काला मानिस सुन्दर नहुँदा रहेछन् र उनी काला जातिसंग रमाउने रहिनछन् ।”
एकपटक फ्रान्समा ईसाई प्रार्थना गृहमा बम प्रहारबाट थुप्रै हताहती भयो । त्यहाँका प्रधानमन्त्रीले सो कार्यको भत्र्सना गर्दै भने —“यो निर्दोष फ्रेन्च जनतामाथि गरिएको बर्बर आक्रमण हो ।” यो वक्तव्यको आलोचना गरियो किनभने यसको यस्तो अर्थ लगाईयो—“के फ्रेन्च जनतामात्र निर्दोष हँुदारहेछन् ? के यो आक्रमण यहुदी वा डचमाथि गरिएको भए कम बर्बर हुन्थ्यो ?”
यी प्रशङ्गहरुमा कहीं कतै वक्ताको नियतमा समस्या देखिदैन । यहाँ समस्या वक्ताको भाष्यमा छ ।
नेपाली नेताहरुको भाष्यमा सबै जनताले अपनत्वको महसुस गर्न सकिरहेका छैनन् । राष्टिय अखण्डता, सार्वभौमिकता, धार्मिक एवम् जातीय सहिष्णुता,राष्टिय एकता र वैदेशिक सम्बन्धको बारेमा सबै नेताको समान धारणा हुनु पर्नेमा त्यसो हुन सकेको छैन । उदाहरणस्वरुपथारु बाहुल्यक्षेत्रमा “यो थारुहरुको थात थलो हो ।” भनेर भाषण गर्ने नेताले त्यहाँ युगौंदेखि बसोबास गरिरहेका अन्य समुदायले अमिलो मन बनाएको कति हेक्का राखे होलान् । मधेशका मुद्धा उठाउने नेताले तराई मधेशमा बस्ने सबै जनताले सो मुद्धा आफ्नो बनाउन किन सकिरहेका छैनन् । संघीय प्रदेशको सीमाङ्कनको छलफलमा “मेरो आँगन सम्म छ, त्यो पनि लैजाउ” भन्ने एक शीर्ष नेताको टिप्पणी नेपाली राजनीतिको बजारमा मीठो अचार बनाईयो तर त्यसको उपयुक्तताको बारेमा कहिल्यै बहस भएन । अर्को शीर्ष नेताले “अरु मलाई थाहा छैन, कैलाली कन्चनपुर फुटाउन पाईंदैन भन्दा अन्यत्रका जनताले “कैलाली र कन्चनपुरमात्र नटुक्र्याउने अन्तचाँहि जे गरे पनि हुने” भन्ने अर्थ लगाउलान् भन्ने चिन्ता देखिएन । कुनै बेला प्रचण्डले “क्याम्पसतिर महेन्द्रीय राष्ट्रवादी हावा धेरै चल्न थालेकोले वाइसिएललाई तयार रहन” आदेश दिंदा यसको अर्थ त्रिविविभित्र बाहुबलीय उपस्थितिको लागि खुल्ला आव्हान गरेको अर्थ लाग्छ भन्ने ठानेनन् । एक पूर्व प्रधानमन्त्रीले वीरगञ्जको एउटा कार्यक्रममा “आजसम्म मधेशी जनताले राष्टघात गरेका छैनन् ” भन्ने अभिव्यक्ति दिंदा यसको अर्थ खसआर्य र आदिवासीले आजसम्मको राष्टघात खसआर्य र आदिवासीको हातबाटमात्र भएको छ भन्ने लगाउलान् भन्ने कुनै मेलोमेसो भएन ।

नियत सफा हुँदा हुँदै पनि नेताले प्रयोग गर्ने भाषा जनमैत्री नहुँदा उनीहरुको व्यर्थको आलोचना भईरहेछ । नेताले बोल्दा ईन्द्रणी स्वरुपको नेपाली समाजको चित्रलाई ख्याल गरे आखिर के विग्रन्छ र ? एक शीर्ष नेताको बोलीमा सबै जनताले जतिसुकै न्यून प्रतिसतमा नै किन नहोस्,आफ्नो भावना समेटिएको महसुस गर्न पाउनु पर्दछ । शीर्ष नेताहरुको दमदार भाषण चलिरहँदा यसतर्फ पनि ध्यान जाला कि ?

प्रकाशित : सोमबार, असार १२, २०७४१०:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दार्जीलिङ्गको गोर्खाल्याण्ड आनदोलन बारे बोल्नुअघि यी कुरामा नेपालीको ध्यान छ की छैन ?