कथा : बाध्यता

[sharethis-inline-buttons]
Leaderboard Banner

प्रवीण शाक्य

बुढीया बिरामी भएकोले म तरकारी लिन मरु गणेश वरिपरि पुगें । म आफु कहिलेकाहीँ मात्र तरकारी किन्न जाने गरेकोले खासै बजारभाउको मेसो थिएन । प्राय नुनदेखि सुन सम्म बुढीया आफै किन्ने गर्थिन । मैले त खालि महिनावारी बुझाउने मात्र हो । आफूलाई सबै तरकारीको भाउ महँगो लाग्यो । तर पनि तरकारी त लानै प¥यो भनेर तरकारी साहुनीलाई गान्टेमुलाको भाउ घटाउन, ए बहिनी यो त अलि घटाएर देउन भने । साहुनी म तिर हेरेर एकछिन् मुसुक्क मुस्कुराइन् ।
नमस्ते सर हजुर पो हुनुहंदो रहेछ, लानुस् न भन्दै मैले भनेकै भाउमा दिइन् ।
मैले खासै उनलाई ठम्याउन सकिन । एकताका बिधालयमा शिक्षक भएर काम गरेकोले कहिलेकाहीँ बिद्यार्थीहरूले अभिवादन गरी नै रहन्थे, यस्तो अभिवादनले बास्तबमै धेरै खुसी महसुस हुन्छ ।
एकछिनपछि उनले मुस्कुरांउदै सोनिन्, चिन्नु भएन हजुरले मलाई ?
मैले त चिन्न सकिन नि भने ।
सर म हजुरको बिधार्थी त हो, मलाई आठ कक्षामा पढांउनु भएको थियो । म लक्ष्मी क्या त, हजुरले कस्तो बिर्सनु भएको ।
एकैछिनमै पुनरस्मरण भईहाल्यो, मैले ठयाक्कै चिनि हालें ।
ओ हो लक्ष्मी तिमी त कति परिवर्तन भईछौ । एकदम अचम्म र खुसी पो लाग्यो । तिमिलाई आज यहाँ देख्दा त अचम्म पो लाग्यो, अनि के छ ?
भलाकुसारी गर्न लागेको थिएँ । तर उनको अन्य ग्राहकहरु सँगको ब्यस्तताको कारण धेरै कुरा गर्न पाईएन । म तरकारी किनेर गइहालें, पछि भेटौंला नि भनेर । उनले पनि हुन्छ सर, म बिहान बेलुका यतै तरकारी बेच्न आंउछु, भेट्नु होला नि भनिन् ।
तरकारी किनेर घर आउन्जेल उनको बिधार्थी बेलाको संम्झनाले पछ्याई रह्यो । बास्तबमै मैले उनलाई सात कक्षा देखि गणित पढाएको थिएँ । आठ कक्षामा पनि पढाएको । मेरो लागि उनी राम्रो र मेहनती लाग्दथ्यो । पढाईमा पनि अब्बल नै थिई ऊ । तर केहि समय देखि उनको पढाई खस्कंदै जानुका साथै उनी अनियमित हुँदै गैरहेकी थिइन् ।
एकदिनको कुरो हो, लामो हिंउदे बिदापछिको गृहकार्य संकलन गर्दै थिएँ । उनले गृहकार्य गरेकी रहेनछिन् । दुई दिनको मौका दिएँ । तर दुईदिन पछि पनि गृहकार्य बुझाईन । राम्रा कहलिएका सबैले बुझाईसकेको र दुईचार जना जो नियमित र अनुशासित नहुनु को साथै पढाईमा पनि राम्रो थिएन, उनीहरूले मात्र बुझाउन बाँकी थियो । स्कूले मास्टर न हो, गृहकार्य नगर्ने सबको हातमा मज्जाले लठ्ठि बर्साउदै गएको थिएँ, उनको हातमा पनि नचाहंदा नचाहंदै बर्साएं ।
त्यसदिन पछि करिब एकहप्ता सम्म लक्ष्मी स्कुलमा आइन । मलाई चिन्ता पो लाग्यो, कतै मेरो लठ्ठि बर्साई सार्हो पो भयो कि । दोस्रो हप्तासम्म पनि स्कुल नआएपछि, चिन्ता झन बढयो । त्यसपछि प्रधानाध्यापक र लेखापालले पनि खोजनिति गर्न थाले । उनले त स्कुलको फि नतिरेको पनि चार पाँच महिना भईसकेको रहेछ । प्रत्यक दिन म उनी स्कुल आइन् या आएनन् भनि जिज्ञासा राख्न थालें । तर उनी त्यसपछि स्कूल आंउदै आइनन् । उनी स्कूल नआएकोमा मेरो मन भित्रैबाट पोलिरहेको थियो । आखिर उनले पढाई किन छोडिन् त । कतै मेरै लठ्ठिकै पिटाईको कारणले त होईन ?
त्यस घटनापछि मैले बिधार्थीहरूलाई कुनै भौतिक कारवाही गर्ने आँट गरिन । म भित्र ठुलो आत्मा ग्लानि भैरहेको थियो । एकदिन शिक्षक साथीहरुसँगै उनको ठेगानामा गएर बुझ्न गएँ । घरमा बस्ने महिलाले उनी घर छोडेर गईसकेकी भन्ने जानकारी गराइन् । तर कँहा किन गईन भन्ने जानकारी उहाँहरूले राम्ररी दिन चाहनु भएन ।
बास्तबमै म त्यस समय शिक्षक नै बनेर सो पेशा अंगाल्ने मनसायले नभई स्नातकको परिक्षाको नतिजा कुर्दै अन्य जागिरको खोजिमा थिएँ । लक्ष्मीले पढाई छोडेपछि म त्यस स्कूलमा आफ्नो शिक्षण पेशाबाट सन्तुष्ट हुन सकिन । कतै मैले गर्दा उनले पढाई छोडेको हो कि भन्ने आत्मग्लानि भईनै रह्यो । जस्ले गर्दा सोहि बर्ष मैले पनि सो स्कुल छोडेर एउटा गैरसरकारी संस्थामा काम शुरु गरे । त्यसपछि त्यस स्कुलमा मेरो आवतजावत पनि भएन । सो घट्ना मैले बिस्तारै बिर्सिसकेको थिएं । तर आज पुनः लक्ष्मी जो मेरो प्रिय र जेहेन्दार छात्रा भएर पनि यो अबस्थामा देख्दा म अचम्मित र दुखित भएँ ।
आखिर उनले किन स्कूल छोडिन् । यसो हेर्दा बिबाहित देखिन्छ । भर्खर १८÷१९ कि त भई होला । किन यति छिट्टै बिवाह गरिन् होला । यी प्रश्नहरू दिनभरिनै मनमा खेलिरहे । रातभर पनि यस्तै कुराहरू मनमा खेलिरहे । भोलि बिहानलाई तरकारी किन्न नपर्ने भएकोले बजार पनि गइन । तर म मा उनलाई भेटेर मेरा जिज्ञासाहरू सोध्ने खुल्दुली रहिनै रह्यो । भोलिपल्ट अफिसबाट सिधै तरकारी किन्ने बहानामा उनलाई भेट्न गएँ । अस्तिको ठाँउमा देखिएन । एकछिन एताउता हेरेपछि अलि पर मुला बेचिरहेको देखें । नजिक गएर मुलाको भाउ सोधें । मलाई देख्नासाथ उनले नमस्ते गरिहालिन् ।
चार मुठा मात्र मुला बाँकि भएकोले उनले सबै नै सस्तोमा लान आग्रह गरिन् । मैले पनि सबैनै उठाएँ । उनको त्यस साँझमा तरकारी बेच्ने काम सकिसकेको थियो । शायद त्यसैले होला वा स्कुलमा रहेको बेलाको हाम्रो घनिस्टताले गर्दा हो, उनले मेरो कोठा नजिकै छ चिया पिउन जाँउ न भनि आग्रह गरिन् ।
ल त जाँउ न त भनि म पनि एकै बचनमा उनको कोठा तिर लागें ।
उनले नजिकै पुरानो घरको छिंडिमा दुईवटा कोठा भाडामा लिएकी रहिछन् । एउटा दुई बर्षको नानी पनि भैसकेको रहेछ । श्रीमान् चांहि एउटा पसलमा ज्यालादारी काम गर्ने रहेछ । उनी चिया पकाउँदै गर्दा मैले मेरो खुल्दुली मेटाउन मेरो प्रश्नहरू तेस्र्याइहालेँ, लक्ष्मी तिमी त राम्रै पढ्ने बिद्यार्थी थियौ । किन बिचैमा पढाई छोडेर यति छिट्टै बिहेबारी ग¥यौ ?
चियाको ग्लास अगाडि राख्दै, गफ गर्ने मुडमै मेरो सामु उनी बसिन् । सुरुवात मै रुन्चे स्वरमा उनले भनिन्, “पढ्न त मन थियो नि सर तर के गर्ने । पढ्ने वातावरण नै मिलेन । आमा सानैमा बित्नु भो । बुबाले अर्कै बिबाह गरेपछि दिदी पनि पन्ध्र बर्षको हुँदै भागि बिबाह गरेर काठमाण्डौ आउनु भयो । गाँउमा चार कक्षा पढ्दै थिएं । सौतनि आमा र बुबासँग बसेर पढाई निरन्तरता दिन गाह्रो भयो ।
काठमाण्डौमा दिदी सुत्केरी भएकोले दिदी भिनाजुले काठमाण्डौमा बसेर पढ्न बोलाउनु भयो । काठमाण्डौ आँउदा म दश बर्षको थिएं, चार कक्षाबाट पुनः पढाई शुरू गरें । घरको काम अलि अलि गर्नु पथ्र्याे तर पढाई गर्न खासै बाधा महसुस भएन । तर जब दिदी को छोरा तिन चार बर्षको भयो, छोरालाई बोर्डिङग स्कुलमा भर्ना गरे ।
भन्ने बेलामा दसकक्षा सम्म निशुल्क भनिन्छ तर स्कुलमा कहिले के कहिले के भनेर प्रत्यक महिना शुल्क तिर्नै पथ्र्यो । हामी दुबैलाई भिनाजुको ड्राईभरी पेशाले पढांउनु गाह्रो भएको महसुस भयो । फेरी दिदी भिनाजुले एउटै कोठा मात्र भाडामा लिनु भएको थियो । जस्ले गर्दा मलाई राति पढ्न र सुत्न अपठयारो हुंदै गएको थियो ।


स्कुल गयो, सर मिसको गाली । आफुले गर्न केही नसक्ने । म खुब चिन्तामा परें । एकातिर पढाएको चिन्ता अर्कों तिर रातमा एउटै कोठामा हुने दिदी भिनाजुको राशलिला ।


हाम्रो कुराकानीकै क्रममा उनको श्रीमान आईपुगे । चिनजान गरियो । श्रीमान चाँहि मलाई अलि सन्चो छैन, औषधि लिन जान्छुं भनेर तुरुन्तै निस्के । पुनः उनले आफ्नो कुरा अगि बढाइन् । मलाई बास्तबमा धेरै पढेर नोकरी गर्ने रहर थियो । त्यसैले कठिन परिस्थितिमा पनि मैले राम्रै पढ्दै थिएँ । तर त्यसपछि को वातावरणले मलाई पढ्न साथ दिएन । दिदी भिनाजुले समयमा स्कूलको फि तिरदिनु भएन । पटक पटक अनुरोध गर्दापनि स्कूलको फि देखि होमवर्क र प्राक्टिकलको लागि चाहिने कापी र अन्य सामागी्रहरु किनिदिन चाख देखाउन भएन । बरू यसै बिषयलाई लिएर दिदी भिनाजुबीच झगडा हुन शुरू भयो । शायद दिदी चाहनु हुन्थ्यो मलाई पढाउन तर भिनाजुले अब नपढे पनि हुन्छ भन्नु हुन्थ्यो ।
स्कुल गयो, सर मिसको गाली । आफुले गर्न केही नसक्ने । म खुब चिन्तामा परें । एकातिर पढाएको चिन्ता अर्कों तिर रातमा एउटै कोठामा हुने दिदी भिनाजुको राशलिला ।
स्कुल गयो कोठा आयो, मेरो खासै दुख सुखको कुरा गर्ने साथी पनि थिएन । एकदिन स्कुलबाट फर्किदै गर्दा माथिल्लो कोठामा बस्ने रामु दाईसंग भेट भयो र सँगै कोठा फक्र्यौँ । त्यसपछि स्कूलबाट फर्किदा प्राय संधै उनीसँग भेट हुन्थ्यो । शायद उहाँ आफै मलाई ढुकेर भेट्नु आउनु हुन्थ्यो । म बिस्तारै बिस्तारै नजानिदै उहाँको प्रेममा परेँ, शायद उहाँ पनि मेरो प्रेममा परिसक्नुभएको थियो होला । उहाँ एस.एल.सी परीक्षा दिएर एउटा पसलमा काम गर्दै हुनुहुँदो रहेछ । उहाँ पनि धेरै पढेर नोकरी गर्छु भन्नुहुन्थ्यो । हामीबिचमा यस्तै सानातिना कुराहरु बाहेक मायाप्रेमका ठुलाठुला गफहरू कहिलै भएन ।
आर्थिक अभाब को कारण हो या भिनाजुको अनिच्छाले हो, मेरो पढाईमा ध्यान कम हुँदै गयो । गृहकार्यहरू समयमा बुझाउन नसक्ने भएँ । सबै सर मिसको प्रिय म अप्रिय हुंदै गएँ । तरपनि कुनै पनि सर मिसले किन के भयो भनि सोधिखोजी गर्नुभएन । खालीगाली गर्ने, सजाए दिने र हेय दृष्टिले हेर्ने काम मात्र गर्नुभयो । अझ समयमा फि नतिरेको भनेर जाँच सम्म दिन पनि दिएन । म भित्रको कथा, ब्यथा र घाउ कस्लाई भन्ने र सर ।
सर, हजुरले त माया गर्नु हुन्थ्यो र एक पटक मात्र सजांय पाएँ । अन्य सर मिसहरू र हेडसरले पटक पटक गृहकार्य गरेन, ड्रेस मैलो भयो, समयमा फि तिरेन भनेर गाली गर्दा धेरै पटक स्कूल छोड्ने सोच बनाई सकेको थिएँ । फेरी स्कूल छोडेर के गर्ने, स्कूल मेरो साथी र घर जस्तै भईसकेको थियो, तर स्कुलले मलाई साथी सम्झेन, आश्रय दिएन । जब स्कुलमा गाली खाएर बेइज्जत हुन्थें, लाग्दथ्यो म आत्माहत्या गर्छु ।

एकदिन स्कुल पुग्दा अलि ढिलो भएछ, मलाई स्कुलमा छिर्न दिएन । कोठा फर्कदै थिएँ, बाटोमा रामुसँग भेट भयो । एकछिनको गफगाफपछि उहाँले सिनेमा हेर्न जाने प्रस्ताव राख्नुभयो । मेरो किशोरावस्थाले उक्त प्रस्ताव सही ठान्यो । आखिर घरबाट पढ्न भनेर आएकै हो, घर ढिलो गएनी भैहाल्थ्यो । त्यसैले हामी सिनेमा हेर्न गयौं ।
सिनेमा हेर्दा बास्तबमै म खुब आनन्दित भएँ । तर सो आनन्दको मुल्य मैले ठुलै चुकाउन प¥यो । जव हामी सिनेमा हेरेर फर्कयौ, मेरो ड्राईभर भिनाजुले हामीलाई बाटोमा देख्नु भएको रहेछ । साँझ घर पुग्दा दिदी भिनाजुले नानाथरि गालि गरि भकुर्नु भकु¥यो ।
भोलिपल्ट स्कुल आउंदा स्कुलमा पनि हजुर र अन्य सरमिसको गाली र सजायले गर्दा, स्कुल पनि आउन मन लागेन । दिदी भिनाजुसँग पनि बस्न मन लागेन । यहि कुरा रुँदै दिल खोलेर रामु सँग छलफल ग¥यौं । सोहि दिन हामीले सोच्दै नसोचेको निर्णय लियौं । हामीले भागि बिबाह गर्यौ । त्यतिबेला म मात्र १४ नाघेर १५ लागेको थिएँ ।


म जस्तै बिद्यार्थीहरूको बास्तबिक समस्या बुझ्न नखोजी परम्परागत अबैज्ञानिक शिक्षा लाद्न खोज्ने शिक्षकहरू र बिद्यालय प्रशासनले गर्दा अझै पनि थुप्रै बिद्यार्थीहरुले यसरी नै बिद्यालयतहको शिक्षा पुरा गर्न पाएका छैनन् ।


लक्ष्मीकोे कथा सुनेपछि म एकछिन भाबुक भएँ । यद्दपी उनले मेरो कारणले पढ़ाई छाडेकी थिइन्, म म पुनः आत्मग्लानिको महसुस भयो । उनलाई स्कूल छोडी कलिलै उमेरमा बिबाह गर्न बाध्य पार्नमा मेरो पनि जिम्मेवारी रहेको आभास भयो । उनले अझै पनि आफ्नो कथा लम्ब्याउदै थियो । तर म आफैले असजिलो महसुस गरें । ल त आज लाई जान्छु । पछि भेटौला नि भन्दै बिदा भएँ ।
घरमा पुगेर म एकछि पुनः सोच्न थालें । म जस्तै बिद्यार्थीहरूको बास्तबिक समस्या बुझ्न नखोजी परम्परागत अबैज्ञानिक शिक्षा लाद्न खोज्ने शिक्षकहरू र बिद्यालय प्रशासनले गर्दा अझै पनि थुप्रै बिद्यार्थीहरुले यसरी नै बिद्यालयतहको शिक्षा पुरा गर्न पाएका छैनन् ।
त्यसैले आज लक्ष्मीको कथा प्रस्तुत गर्दैछुं ता कि यस्ता समस्यामा सम्पूर्ण शिक्षकहरु र बिद्यालय प्रशासनको ध्यानाकर्षण होस् । सम्पूर्ण शिक्षकहरु बिद्यार्थीमैत्री हुनुपर्दछ । शिक्षकहरु र बिद्यालय प्रशासनले बिद्यार्थीहरुको समस्या र आबस्यकता को ध्यान दिनुपर्दछ । अन्यथा अझै पनि थुप्रै बालबालिका तथा किशोर किशोरीहरु, बिशेषत गरिब, दुखी र पिछडिएका वर्गहरु लक्ष्मी र रामुले जस्तै बिद्यालय शिक्षा समेत पूरा गर्न नसकी कलिलै उमेरमा बिहे गर्नु पर्ने बाध्यता रही रहेनेछ ।

प्रकाशित : आइतबार, बैशाख १७, २०७४०९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘भरियाको भूगोल’माथि परिचर्चा