छन्द कविता लेखन तालिम

काठमाडौँ, १५ वैशाख – साहित्यमा हराउँदै गएको छन्द कविता लेख्न सिकाउने उद्देश्यले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ अन्तर्गत विद्यालयका विद्यार्थीलाई तीनदिने तालिम सुरु गरिएको छ ।

सांसद रामेश्वर फुयाँलले सांसद विकास कोषबाट उपलब्ध गराउनुभएको रु एक लाख सहयोगले ‘बाल कथा र छन्द कविता लेखन तथा वाचन तालिम’ सुरु गरिएको कार्यक्रमका अध्यक्ष साहित्यकार वेदमणि घिमिरे ‘गोविन्द’ ले जानकारी दिनुभयो ।

जोरपाटी नारायणटारस्थित इष्टपोल उच्च माध्यमिक विद्यालयमा बिहीबारदेखि सुरु भएको तालिममा ३५ विद्यालयका सय जना छात्रछात्राको सहभागिता छ । तालिममा डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालले छन्द कविता तथा बाल साहित्य समाजका उपाध्यक्ष शैलेन्दुप्रकाश नेपाल र महासचिव यशु श्रेष्ठले बाल कथा लेखन सम्बन्धी तालिम दिइने छ ।

सो अवसरमा सांसद फुयाँलले कोषका माध्यमबाट आगामी आर्थिक वर्षमा पनि छन्द कविता र बाल कथा लेखन तालिमका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल प्रज्ञा– प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले प्रतिष्ठानले गर्नुपर्ने काम सांसद विकास कोषको सहयोगमा भएकोमा खुसी व्यक्त गर्नुभयो । रासस

प्रकाशित : शुक्रबार, बैशाख १५, २०७४१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कथा : बाध्यता