गाउँपालिकाका उमेदवारलाई सुझाव
प्रेम रेग्मी
दुई दशक लामो अन्तरालपछि नेपालमा फेरि स्थानीय निकायको निर्वाचन हुदैछ। चुनाव हुनु अर्थात जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि आफै छान्न पाउनु आफैमा सुखद छ। विकास निर्माणका सहि योजना नबन्नु, बनेका योजना अलपत्र पर्नु र कार्यन्वयन भइहालेपनि बजेटमा हुने अत्यधिक चुहावट अर्थात भ्रष्टाचारको समस्या त यत्रतत्र देखिएको छ।
विकास निर्माणका कामहरु यतिसम्म अलपत्र छन कि पन्ध्र वर्ष पहिले पिच हुंदैछ भन्ने बाटो अहिले पनि त्यही भनिन्छ। पन्ध्रवर्ष पहिले खनेको बाटोमा हरेक वर्ष डोजर लगाइयो र अहिलेपनी लगाइन्छ तर कुनै स्तनतोरी हुन सकेको छैन लगभग जस्ताको तस्तै छ। दस वर्षदेखि बिजुली बाल्ने सपना साचेका जनता अझैपनी हुनेले सोलार र नहुनेले टुकि बालेर बस्न बाध्य छन। तर त्यो पन्ध्र वर्षमा दिनप्रतिदिन युवाहरु विदेशिदै छन, दशैतिहारबाहेक अरु समयमा गाउँमा गयो भने बुढापाका र आइमाई केटाकेटी बाहेक गाउँमा कोहि हुँदैन। खेतिबारी हरेक वर्ष बांझिने क्रम बढ्दो छ। अरू यस्तै यस्तै भुमरीमा फसेकाे छ हाम्राे समाज।
यो सबको कारण भ्रस्टाचार र त्यो भन्दा पनि बढी ठुलो कारण चाहिँ योजनाबिहिन लगानी नै हो। बजेटलाई कसरी सदुपयोग गर्ने भन्दा पनि आएको बजेटलाई कुनै सजिलो ठाउँमा लगायो, सकायो; त्यो भन्दा केही भएन। हो, विकास गर्न बजेट चाहिन्छ तर त्योभन्दा महत्त्वपूर्ण योजना र त्यसको सहि प्रयोग नै हो। मैले यहा उल्लेख गरेका समस्याहरू केही सहरी क्षेत्र वाहेक हरेक ठाउमा भाेग्दै आइएकाे छ। त्यसैले मैले यहा कुनै सहरकाे भन्दापनी ग्रामीण क्षेत्रका गाउपालीका र नया नगरपालीका पाच वर्षमा कसरी जनताले महसुस गर्नेगरी वीकास गर्न सकीन्छ प्रस्ट पार्न खाेजेकाे छु।
कसरी हुनसक्छ गाउँको विकास ?
जति सजिलो सपना बाड्न छ , बाडेका सपना पुरा गर्न त्यती नै गार्हो हुन्छ त्यसैले अनावस्यक सपना बढ्नु भन्दापनि आफुले पाच वर्षमा के काम कसरि गर्न सकिन्छ राम्रो संग अध्ययन गर्नुपर्ने हुन्छ। यदी तपाई योजना बनाएर काम गर्नुभयो भने सानो बजेटमा पनि धेरै उदहारणीय काम गर्न सकिन्छ । मैले एक जना उम्मेदवार को योजना सामाजिक संजालमा पढेको थिए । उहाले आफ्नो गाउपालिकामा ३ वटा साना जलबिदुत आयोजना, करिब ४ ठाउमा हावाबाट विजुली, हरेक ठाउमा क्याम्पस (हरेक ठाउको मतलब उहालाई नै थाहा होला ), ४ ठाउमा भिउ टावर, ठुला ठुला मुर्ति, ठुला अस्पताल , सिमेन्ट उद्धोग यस्तै यस्तै करिब ५ दर्जन सपनाहरु । कुनैपनी ठाउँलाई विकसित ठाँउ भन्नुभन्दा पहिले हामीलाई थाहा पाउनु जरुरी छ कि विकास के हो? सबैका आ-आफ्नै तर्क होलान तर समग्रमा भन्नुपर्दा विकसित ठाउँ त्यस्तो स्थान हो जहाँ सम्पुर्ण आधारभूत आवस्यकताहरु पूरा भएका हुन्छन जस्तो: शिक्षा, स्वास्थ्य, संचार, सरसफाइ, रोजगार, यातायात, खानेपानी, उर्जा, इत्यादि। यी सब कुरालाई गाउँमा पुर्याउनको लागि सबैभन्दा ठूलो समस्या भनेको छरिएको वस्ती र भौगोलिक अवस्था हो। यदि जनतालाई छोटो समयमा विकासको अनुभुती गराउने हो र सम्पुर्ण आधारभूत कुराहरु पूरा गराउने हो भने सर्वप्रथम वस्तीहरुलाई एकीकृत गर्नुपर्ने हुन्छ। यहाँ मैले सम्पुर्ण आधारभूत विकास कसरी पाच वर्षमा पुर्ती गर्न सकिन्छ भनेर प्रष्ट पार्दैछु।
पहिलो वर्ष:
– हरेक वडामा केही त्यस्ता ठाउँ छान्नुहोस जहाँ कम्तिमा पनि १०० घर बसाउन सकिन्छ, खानेपानी, बाटो, बिजुली लगायतका पुर्वाधार सजिलै पुर्याउन सकिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा सम्भव भएसम्म खेतीयोग्य जमीन नहोस र यदि खेतीयोग्य जमीन भएपनी कम खेती हुने ठाँउलाई बढी प्राथमिकतामा राख्नुहोस बस्ति बसाउनको लागि । यसरी एउटा वडामा २/३ वटा देखि ५/६ वटा स्थानहरुलाई छनौट गर्नुहोस। खेतीयोग्य जमीन नभएको कारण ग्रामीण भेगमा त्यस्ता जग्गाको मूल्य पनि धेरै पर्दैन र तिनलाई सरकारको अथवा समुदायको बनाउनुहोस।
-अब यसरी छनौट गरिएका स्थानहरूमा मोटरबाटो पुर्याउनुहोस र व्यवस्थित तरिकाले त्यसलाई प्लटिङ गर्नुहोस। एकवस्तीलाई अर्को बस्तीसम्म जोड्ने बाटो बनाउनुहोस।
दोस्राे वर्ष:
-ढल र खानेपानीको व्यवस्था मिलाउनुहोस र बस्तीभित्रको बाटोलाई कालोपत्रे गर्नुहोस।
-त्यहाँका स्थानीय व्यक्तिलाई नि:शुल्क अथवा सुलभ दरमा प्रत्यक घरलाई एउटा घडेरी वितरण गर्नुहोस।
तेस्राे वर्ष:
-बस्तीमा बिजुलि पुर्याउनुहोस। हरेक बस्तीमा स्वास्थ्य चौकीको स्थापना गर्नुहोस, खेल्ने मैदान, पौडी पोखरी बनाएर बस्तीलाई कम्पाउण्ड गर्नुहोस।
-घर बनाउनकोलागी मापदण्ड तोक्नुहोस र २/३ वटा निश्चित डिजाइनको घर बनाउन अनुमती दिनुहोस। यसरी डिजाइन तयार पार्दा लागतलाई विशेष ध्यान दिनुहोस।
चौथो वर्ष:
-हरेक वडामा माध्यमिक तहको विद्यालय स्थापना गर्नुहोस जुन धेरैजसो ठाउँमा पहिले नै बनिसकेको हुनसक्छ।
-कृषि संकलन केन्द्र स्थापना गर्नुहोस।
-गाउपालिकामा कम्तीमा एउटा २०/२५ सैयाको अस्पताल, उच्चशिक्षाको लागि क्याम्पस, पार्क, फिल्म हल, मठ-मन्दिर, वसपार्क लगाएतका संरचनाहरू बनाउनुहोस।
पाँचौ वर्ष:
अब बस्तीभित्र धेरै घरहरू बनिसकेको अवस्थामा जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू ल्याउनुहोस। एउटा बस्तीदेखी अर्को बस्तीसम्मको बाटोलाई कालोपत्रे गर्नुहोस, हरेक बस्ती हुँदै (बस्तीको गेट) गाउपालिकाको केन्द्रसम्म पुग्नको लागि निश्चित समयमा बस चलाउनुहोस। सुरक्षाको व्यवस्था मिलाउनुहोस, एम्बुलेन्सको व्यवस्था गर्नुहोस।
यसरी पाँच वर्षमा हरेक गाउँ सानो-सानो सहरमा विकास हुनेछन जहाँ सम्पुर्ण आधारभूत आवस्यकताको परिपुर्ति हुनेछ र सबैले परिवर्तनको महसुस गर्नेछन।जब सम्पूर्ण आधारभूत कुराहरु पुरा हुन्छन, मानिसहरु अस्त ब्यस्त सहर भन्दा गाउमै बस्न रूचाउनेछन, पछि गर्ने ठुला बिकासका कामहरु गर्न सजिलो हुनेछ। तपाइलाई अर्कोपटक पनि चुनाब जित्ने अथवा अहिलेको भन्दा माथिल्लो तहमा चुनाब लड्न बलियो आधार हुनेछ|