आवश्यकता गर्लफ्रेन्डको

[sharethis-inline-buttons]
Leaderboard Banner
रामु ओलि
रामु ओलि

ग्रुपमा सबैको गर्लफ्रेन्ड छ । अशिमको छ । जिबनको छ । मनमोद्को बिहे भैसकेको , उसलाई त गर्लफ्रेन्डको खाचोनै छैन । प्रदिप त गर्लफ्रेन्डको मामिलामा सबैभन्दा धनी । बाकी थिए म , बिना गर्लफ्रेन्ड । कस्तो नमज्जा लाग्ने । सोच्दा पनि र भन्दा पनि ।  

यो उमेरमा गर्लफ्रेन्ड छैन ! कहिले बनाउछस ? मर्ने बेला ? अक्कलझुक्कलमा साथीहरू भनी पनि हाल्थे । आफु भने ओठ लिफृक्क  पारेर – खोज्देउन त भन्नुको बिकल्पै थिएन ।

” हा हा हा ….. हराएको होला नि है , खोजेर भेट्ने । आफैं खोज । साथमा हिड्ने काम हाम्रो भयो ।” खिल्लीनै उडाए पनि साथ जान्छु त भनेकै छन । कताकता खोज्न हिडौ झै लाग्यो । के थाहा भेटिपो हाल्छिन कि ! गर्लफ्रेन्ड नभाको मन न पर्‍यो आस लागि हाल्ने ।

बिहानै उठे । आधी निद्रा बाकिनै थियो । सधै नौ नबजी नउठ्ने । गर्लफ्रेन्डको सवाल थियो , उठ्नै पर्यो । एक मनले त सोचे – गर्लफ्रेन्ड सलफ्रेन्ड गोलि मार्दिउ । तर साथिभाइको त्यो ल्वापे अलि बढीनै  पिडादाइ लाग्यो । न्वारान देखिको जोश निकाले । अनुहार बिनाको भबिस्यको गर्लफ्रेन्डलाइ सम्झिए । ओहो ….शरीरनै हल्लायो ।  अलौकिक तरंग पैदा भयो । सम्झिदैमा यस्तो हुने , साच्चिकै गर्लफ्रेन्ड भए त कस्तो होला … सोचेरै दङ्ग परे । एकछिन सम्म ।

अलि टिपटप बन्नु पर्छ – एक मनले भन्यो । हुनपनी हो , केटाहरु कम्ती त टिपटप बन्दैनन । बारम्बार आफैलाइ हेर्नू पर्ने । ऎना देख्यो कि कपाल मिलाउनै पर्ने । अझ सैलुन त देख्नै नहुने । छिरिपो हाल्थे त !  अब मैले नि त्यस्तै गर्नु पर्छ । किनकी कुरा गर्लफ्रेन्डको थियो ।

 ” कस्तो सुहाएको यो सर्ट मा ” – निस्कने बेला आमाले भन्नू भयो । मुसुक्क मुस्कान थाहै नपाइ निस्कियो । गएर ऎनामा आफैलाइ हेरे । ऎनाको रामु पनि मुस्कुराइ रहेको थियो । आफ्नै प्रतिबिम्ब हेरेर आफैलाइ डर लाग्यो । कतै आफ्नै आँखा लाग्छकी भनी ।

नेपालगन्जको सितल बिहानी । सुर्खेतरोडमा ओहोरदोहोर गर्ने कलेज स्टुडेन्ट को भिडभाड । फरकफरक ड्रेसमा सजिएकि केटिहरु । ” यिनैमा एउटि चाहिँ मेरै हुन ।”- सोची सकेको थिए ।  स्कट र पाइन्ट लाउनेनै धेरै थिए । कुर्ता लाउने खोज्नु त सुनै खोजे बराबर । अब कसलाइ हेरौ कसलाई ? कस्तो दोधार । स्कट कि पाइन्ट ? छान्नै गाह्रो ।

थुक्क !! मनमोद लाई त बोलाउनै भुलेछु ।  । यस्तो बेलामा त्यहि काम लाग्थ्यो । बिहे गरिसकेको मान्छे , अनुभवमा पाको । र महत्त्वपूर्ण कुरा मैले रोजेको/खोजेको लाई उसैले लाइन मार्ला भन्ने रिस्क पनि नहुने । तर बोलाउन भने भुली हालेछु । अब भने – थुक्क भन्नू सिवाय बिकल्पै रहेन । निकै पछुतो लाग्यो ।

जयबागेश्वरी स्कुल छिर्ने मुल बाटोमा उभिएरै टोलाय । कति एक्लै आए र भित्र छिरे । कति अंकमाल गर्दै आए तर छुट्टीएर भित्र छिरे । हेरे सबैलाई । गोरि , काली गहुगोरी , फुच्ची , अग्लि ,मोटि सबैलाइ हेरे ।  सबैलाइ आफ्नै हुनेवाला गर्लफ्रेन्डको नजरले हेरे । तर  गर्लफ्रेन्ड कसलाई बनाउने निधो भने गर्न सकिन । पाइन्टवाली या स्कटवाली ? यसैमा दोधार भए । फेरि पनि मनमोदकै अभाब खट्कियो । पुकारे ईश्वर – हे भगवान, केही काम विशेष भए पनि निस्के हुन्थ्यो नि ।

सयौं केटिहरु आए , गए । तर फिल्ममा देखाए झै कोहि आएनन् । ठोक्किदै झरेका किताबहरु उठाउदै सरि भन्ने । नत गालीनै गर्ने आए । नत किताबहरु उठाउदै गर्दा आँखा जुधाउने कोहि आए । अहिलेत सम्झिदा नै बकवास लागेर आयो , मैले हेरेका ती फिल्मका क्लाइमेक्सहरु ।

नभाको डाहा लागेर आयो । ईष्र्या जागेर आयो । हिजो सम्म प्रेमी जोडिहरु देख्दा हेरेरै माजा लिन्थे । उनिहरुको झगडामा मजा लिन्थे ।  सडकमै रचिएको प्रेमका दृश्य र बार्तालापमा मजा लिन्थे । तर आज ती सबै दृश्यले मलाइ नै चिढाइरहेको छ । ल्वापे खुवाइरहेको छ – बिचरा भन्दै ।

ल्वापे खाइसके पछि त्यो कलेजको मुल बाटोमा बस्नुको अर्थै रहेन । बिपि चोक हुँदै बिटिएस चोक आएर मनमोद लाई कल गरे । निद्रैमा भए पनि आउछु सम्म भन्यो । घडी हेरे “नौ” बजि सकेको थियो ।

बिटिएस चोक अगाडि पसलमा चिया बन्दै थियो । एक कप चिया पिउकी भन्ने लाग्यो । चियाको कप लिएर सैलुन छिरे । सैलुनमा पुगेर सर्टको कल्लर मिलाए । कपाललाइ केही माथितिर उठाए । आफैलाइ हेरेर भन्न मन लाग्यो – रामु , गज्जबको देखिएको छस ।

छेउमै थिइन, हेर्दा फुच्ची लाग्ने । गहुगोरि । कलेज ड्रेसमै उभिएकि । काला आखाहरु, बारम्बार सिटि कलेजको गेट तिरै डुलाउदै थिइन । हातको मोबाइललाई अर्को हातमा बिस्तारै ठोक्दै थिइन । सायद मोबाइल अफ थियो होला । अनुहारमा केही आवेग भने प्रष्ट देखिन्थ्यो ।

मेरो मनमा गर्लफ्रेन्ड शब्द फेरि नाच्न थाल्यो । जसरी झरिमा साना नानिहरु उफ्रिदै नाचेका हुन्छन । त्यसरी नै उफ्रन थाल्यो । उफ्रदै नाचेको मनले भन्यो , कतै यिनै पो हुन कि त ? मेरो गर्लफ्रेन्ड ……..

मान्छे पनि राम्रीनै छिन । साथिहरुको गर्लफ्रेन्ड भन्दा कुनै मानेमा कम छैनिन् । बरु बढीनै होलिन् । कम खालको लाई रोज्नु र खोज्नु पनि घातकनै थियो । फेरि अर्को किस्साको शिकार नबनाउलान भन्ने के भर । गर्लफ्रेन्ड त खोज्यो तर …..  त्यो तर पछिको लामो डट डटमा धेरै कुराहरु आटाउन सक्छन । कति फिक्का लाग्दा त कति मुटुनै चिरिने ।

उनैको नजिक उभिएरै पाँच मिनेट बिताए । हेरे दायाँ देखि बायाँ सम्म । तल देखि माथी सम्म । अगाडी – पछाडी पनि छोडिन । हरेक कोण बाट हेरे । खुट्टाका औंलाहरु पनि हेरे । कुनै कुरामा खोट या दोष भेट्न् सकिन ।  अब चाहिँ बोल्नुपर्छ । किनकी यो तेरो गर्लफ्रेन्ड बन्नलाइ अतिउपर्युक्त छ – मनले भन्दै थियो ।  मनले बारम्बार भनिरहेको थियो – रामु बोल । छिटो बोल । कुनै बहाना बना ।  कुनै पनि बहानाले काम गर्नेछ ।

कस्तो संयोग , एक झोक्का हावा उनको बिपरित दिशा बाट आयो । उनको लामो कपाललाई स्पर्श गर्यो ।  फुर्‍र उडायो । मेरो गाला छुदाछुदै कपालको लम्बाई सकियो र बिस्तारै झर्‍यो उहि हावामा हल्लिदै ।

उनी पुलुक्क म तिर हेरिन । आबेग भरिएको ओठमा जबर्जस्ति मुस्कान निकालिन ।   छोटो हासो हासिन , कन्जुस्याइँ गरेर । उनी हास्नु मेरो लागि कुरा गर्ने राम्रो बहाना बनेको थियो । धन्यवाद दिए त्यो हावालाइ । धन्यवाद दिए ती हावामा हल्लिदै मलाई स्पर्श गर्न खोज्ने कपालहरुलाइ । किनकी तिनैका देन थिए – उनी मुस्कुराउनुमा ।

” कसैलाई कुर्या हो ?” उनको हासो सकिन नपाउदै सोधे । उनको मुस्कान ओठमा छदै सोधेँ ।

टाउको हल्लाउँदै , हो भन्ने संकेत गरिन । “आउछु भन्या थि , यतिबेला सम्म आइनी । मोबाइल पनि स्विचअफ भयो ।” आखाहरुलाइ तलमाथि गर्दै मोबाइल लाई फेरि पनि आफ्नै हातमा ठोकिन ।

“आउछु भन्या थि” – यो शब्दमा निकै खुसी भेटे । थि , को मतलब उनले कुरेको कुनै पुरुष, अर्थात मेरो प्रतिस्पर्धि लाई होइन  । उनले महिलालाई कुर्दै थिइन । उनको साथी होलिन नभए दिदी या बहिनि नै होलिन ।  मेरो लागि चाहिँ उपयुक्त लमि हुन सक्थिन । त्यसैमा खुसी भए र बढाए आफ्नो हात । उनी तिर । हातमा थियो एच टि सि 820 मोबाइल ।

बिना संकोच , बिना हिचकिचाहट मोबाइल समाइन । लाग्यो केही सेकेन्ड मैले होल्ड मात्र गरेको भए…….,  सायद उनी आफै अग्रसर हुने थिइन् , मोबाइल माग्नलाइ । फेरि आफैलाइ थुक्क भन्न मन लाग्यो । उनी आफै बोल्न आको भए अलिकति त भाउ बढ्थ्यो होला ?

उनी आफ्नो मसिना औंलाहरुले, मेरो मोबाइलको किबोर्डमा नम्बर टाइप गर्दै जादा मैले भने उनी संग बारबार कन्ट्याक्ट् गर्ने अवसर पाउदैछु भन्ने कुरामा खुसि हुँदै थिए । उनी केही नम्बर टाइप गर्दै फेरि डिलिट गर्फै गर्दा भने आफ्नो खुसी च्यातिदै गएको महशुस गर्न केही सेकेन्ड पनि लागेन । न उनले नम्बर सम्झन सकिन न मैले उनले डाएल गरेको नम्बरमा रिडाएल गरेर उनी संग सम्पर्क गर्ने सपना नै पूरा हुन सक्यो ।

दुई बिपरित दिशाबाट मनमोद र उनको साथी आएको कुरा उनको र मेरो हेराइले प्रष्ट बतायो ।

दुबैको भेट संगै मोबाइल मेरो हातमा राख्दै – बाइ को संकेत गरिन र हिडिन । परै पुग्दा सम्म पनि हेरिरहे , कतै फिल्ममा जस्तै , केही पाइला पछि  फर्केर हेर्छिन कि भनि ।

 

प्रदिपको साथिको बर्थडे छ । सैनिकमा ।  आज राती । सबै जाने रे प्रदिपले भनेको । मनमोद एकपछि अर्को गर्दै शब्दको प्रस्फुटन गर्दै बोल्यो ।

जान्न म , तिमीहरू नै जाउ । तिमीहरु पो जोडी- जोडी जाने होला , मेरो के काम त्यहा फोकटको सजाय भोग्न । न दारु पिउन पाउनु न चुरोट नै । – म बिच्किएरै बोले ।

गर्लफ्रेन्ड भेट्न जादा त मुख कुल्ला गरेर , चुइगम चपाएर जान्छन । संगै भए पछि पिउने त के कुरा सुँघ्न पनि पाउदैनन् । म एक्लै के गर्नु । म नजाने निश्चितै नै गरे ।

जानू पर्छ यार , तलाइ त फाइदा होनि । टन्नै केटीहरु हुन्छन , लाइन मार्लास । सिक्वाइन्स मिलाउने हामी छदै छौ । मनमोदको यो कुरा चित्तबुझ्दो थियो । ” पक्का सिक्वाइन्स मिलाउछौ नि ? मैले वचन मागे । उसले हुन्छ भन्यो । र सुरु भयो प्रतीक्षा – सैनिकको ।

 

 

प्रकाशित : शनिबार, असोज २९, २०७३१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सपनामा गर्ल्स होस्टेल